हेटौंडामा भव्य तयारीसहित छठ पर्व मनाइँदै, करिब ६० हजार भक्तजन उपस्थितिको अनुमान

समाज

धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व आज तराईका विभिन्न जिल्ला सहित पहाडी क्षेत्रमा पनि श्रद्धा र उत्साहका साथ मनाइँदैछ । तराईको यो प्रमुख पर्व अब सबै समुदायले साझा उत्सवका रूपमा मनाउन थालेका छन् ।

हेटौंडामा विगत ३५ वर्षदेखि निरन्तर रूपमा छठ पर्व मनाउने परम्परा रहेको छ । यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको किनारमा भव्य तयारी गरिएको छ ।

आयोजक संयुक्त मधेशी समाज मकवानपुरका सचिव नन्दलाल दासका अनुसार करिब ६५० फिट लम्बाइ र २० फिट चौडाइको विशाल पण्डाल निर्माण गरिएको छ । साथै, २५ वटा व्यवसायिक स्टल पनि स्थापना गरिएको छ । पूजास्थलको मध्य भागमा छठी माताको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

भक्तजनहरूको सहज प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ भने पूजास्थलमा विद्युतिकरण कार्य तीव्र रूपमा जारी छ । बालबालिकाका लागि विशेष फन पार्कको व्यवस्था पनि गरिएको छ ।

यस वर्ष ५० देखि ६० हजार भक्तजन तथा अवलोकनकर्ताहरू सहभागी हुने अनुमान गरिएको छ । रातभर जाग्राम बस्ने भक्तजन र सुरक्षाकर्मीहरूको सहजताका लागि आयोजकले निःशुल्क चियापानको व्यवस्था समेत गरेको छ ।

छठ पर्वले तराई र पहाडबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै आएको सचिव दासले बताए । उनका अनुसार, सन्तान प्राप्ति र सन्तानको सुख–समृद्धिको कामनासहित मनाइने यो पर्व प्रकृति पूजासँग पनि जोडिएको छ ।

यस वर्षको छठ पूजाका लागि कुल अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको छ । जसमा हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ सहयोग प्रदान गरिने भएको छ । बाँकी खर्च चन्दा संकलन र भक्तजनहरूले अर्पण गर्ने भेटीबाट जुटाइने आयोजकको भनाइ छ ।

सूर्यदेवको आराधनासँग सम्बन्धित यो चार दिवसीय पर्व ‘नहाय–खाय’ बाट सुरु भई दोस्रो दिन ‘खरना’ मनाइन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत् रूपमा समापन हुन्छ । छठ पर्वले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक सहअस्तित्व र एकताको सन्देश पनि दिएको छ ।