माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर

अपराध तथा सुरक्षा समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७÷७८ मा आह्वान गरिएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.लाई रू.२ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

विद्यालय भवन निर्माणको ठेक्का सम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा  अख्तियारले  प्रतिवादी बनाएर  सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, माधवनारायण नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव  र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.का सञ्चालक अजित कुमार कर्णले गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पु¥याउने बदनियतले काम गरेको पुष्टि भएको अख्तियारको दावी छ ।

उनीहरूले बोलपत्र आह्वानको सूचना  लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरी नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी  मात्र प्रकाशित गरिएको पाइएको अख्तियारले जारी गरेको बिज्ञाप्तिमा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालबाट सो मितिका सूचनाहरूको ‘पीडीएफ अभिलेख’ नदेखिएको भनी प्राप्त भएबाट उक्त सूचना प्रकाशित नै नभएको पुष्टि भएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।