“भदौ २३ गते, मेरो छोरा सधैंभन्दा चाँडै घर फर्कियो। सधैं साँझ ६ बजे फर्कने छोरो त्यो दिन ५ बजे नै आइपुगेछ। साँझको समय पसलमा व्यस्त थिएँ, खासै कुरा गर्न पाइनँ। तैपनि, किन आज यति चाँडै घर फर्किस् भनेर सोध्दा, ‘आज हामी आन्दोलनमा गएको’ भन्यो।
छोरा घर फर्कने बेलासम्म धेरै समाचारहरूमा आन्दोलनको घटना र मृत्यु भएकाहरूको कुरा आइसकेको थियो। तर मैले कल्पना नै नगरेको, मेरो आफ्नै छोरो त्यो आन्दोलनमा गएको रहेछ। यो कुरा सुन्दा एकछिन त मेरो मन सिरिङ्ग भयो । मैले केही नभनी, ‘जा, डेरामा गएर फ्रेस हुँदै गर’ भनेँ।
बेलुकी ८ बजेतिर पसल बन्द गरेर म घर फर्किएँ। कहिल्यै आफ्ना लुगा नधुने छोरो आफ्नै सर्ट र पाइन्ट धोइरहेको थियो। उसले मिच्दै गरेको लुगाबाट अलिअलि रातो घोल निस्किरहेको थियो। ‘यो के रातो हो?’ भनेर सोधिहालेँ। उसले भन्यो, ‘रगत अलिअलि लागेको थियो, त्यही हो।’

‘कसरी लाग्यो रगत? तँलाई चोट त लागेन नि?’
‘लागेन, तर मेरो सँगैको साथीलाई छातीमा गोली लाग्यो, त्यहीँ ढल्यो। एकछिन बोकेर अस्पताल लैजाँदा रगत लाग्यो।’ यति भन्दै उसको आँखाबाट टिलपिल आँसु झर्न थाल्यो।
मैले केही नबोली, ‘ल, सफा गरेर सुकाइदे’ भनेँ।
त्यसपछि ऊ चुपचाप भयो। आयो, आफ्नो खाना आफैं राख्यो, खायो। केही नबोली आफूले खाएको भाँडा माझ्यो र आफ्नो कोठामा गयो। मैले केही बोलिनँ।
भोलिपल्ट छोरो ढिलो उठ्यो, करिब १० बजेतिर। सायद रातभरि निद्रा परेन होला। अहिले सोच्छु, त्यो दिन दर्जनौं मान्छे मरे। मेरो छोराजस्ता कति मरे। मेरो एक्लो छोरो फर्कियो। म जस्ता धेरै आमाबुवाको काख रित्तियो। धेरै जना शहीद भए, तर केका लागि? एउटा र्यालीका लागि पनि किन गोली नै चलाउनुपर्ने आवश्यकता पर्यो र? खोइ, कुनै ठूला नेताहरूले दुःख मानेको छैनन्। आजसम्म २ दिनको घटनाले ७० जना मरिसकेका छन्, तर खोइ के हो? यति दिन भइसक्यो, छोरोले मसँग अझै राम्रोसँग बोलेको छैन। मैले पनि बोल्न सकेको छैन।
कबिन मलेकू
