काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रमाथि बढ्दो दबाब, अनिश्चितता र धरपकडप्रति संयुक्त रूपमा आपत्ति जनाएका छन्। उनीहरूले यस्तो अवस्थाले देशको लगानी वातावरण गम्भीर रूपमा कमजोर बनिरहेको चेतावनी दिएका छन्।
तीनै संगठनका अध्यक्षहरू क्रमशः चन्द्रप्रसाद ढकाल, विजयबहादुर शाह र कमलेशकुमार अग्रवालले संयुक्त धारणा सार्वजनिक गर्दै निजी क्षेत्रमाथि पछिल्ला दिनमा देखिएको व्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनीहरूका अनुसार मुलुकको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र रोजगारीमा करिब ८६ प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको अवस्थामा यही क्षेत्रमाथि अनावश्यक दबाब सिर्जना हुनु आर्थिक स्थिरताका लागि प्रतिकूल संकेत हो।

व्यवसायीहरूलाई अनुसन्धान तथा प्रशासनिक प्रक्रियाका नाममा बारम्बार तान्ने, सार्वजनिक रूपमा अप्ठ्यारो बनाउने र व्यावसायिक गतिविधिमा अवरोध पुर्याउने घटनाले लगानीकर्ताको मनोबल कमजोर बनाएको उनीहरूको भनाइ छ।
तीनै संगठनले संविधानले प्रत्याभूत गरेको निर्दोषिता सिद्ध नभएसम्म दोषी नमानिने सिद्धान्तलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै निष्पक्ष, प्रमाणमा आधारित र पारदर्शी अनुसन्धान प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरेका छन्।
उनीहरूले यस्तो अवस्था कायम रहेमा पूँजी परिचालन, बैंकिङ प्रणाली, रोजगारी सिर्जना र समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भन्दै सरकारलाई निजी क्षेत्रसँग विश्वासपूर्ण सहकार्य गर्न आग्रह गरेका छन्।
व्यवसायिक संगठनहरूले लगानीमैत्री वातावरण, स्थिर नीतिगत संरचना र पूर्वानुमानयोग्य कानुनी प्रणाली बिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष पनि प्रस्तुत गरेका छन्।
