“Premiums on the Rise: ११ महिनामा डेढ खर्ब बढी बिमा शुल्क संकलन नेपाल लाइफ अग्रणी, एलआइसी तेस्रो स्थानमा

बैंक/वित्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ मसान्त) सम्ममा जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जीवन बिमा र ३ लघु जीवन बिमा कम्पनीबाट यो राजस्व आर्जन भएको हो।

तथ्यांक अनुसार, जीवन बिमा कम्पनीहरूले प्रथम बिमा शुल्क अन्तर्गत वैदेशिक रोजगार बाहेकबाट ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ, वैदेशिक रोजगार बिमा शुल्कबाट २ अर्ब ७५ करोड २० लाख रुपैयाँ तथा नवीकरण बिमा शुल्कबाट १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ संकलन गरेका छन्।

लघु जीवन बिमा कम्पनीहरूको पक्षमा हेर्दा, ती कम्पनीहरूले ११ महिनामा प्रथम बिमा शुल्कतर्फ ६३ करोड ६० लाख, वैदेशिक रोजगार बिमा शुल्कबाट ४४ करोड ५ लाख र नवीकरण शुल्कबाट २ करोड १६ लाख रुपैयाँ संकलन गरेका छन्। लघु जीवन बिमा कम्पनीहरूको कुल संकलन १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

बिमा शुल्क संकलनको आधारमा नेपाल लाइफ इन्सुरेन्स सबैभन्दा अगाडि रहेको छ। यसले ४१ अर्ब २ करोड रुपैयाँभन्दा बढी संकलन गरेको छ। दोस्रो स्थानमा नेसनल लाइफ इन्सुरेन्सले १८ अर्ब ९० करोड रुपैयाँभन्दा बढी र तेस्रो स्थानमा एलआइसी नेपालले १७ अर्ब २४ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्।

यता, जेठ महिनामात्रै १४ जीवन बिमा कम्पनीहरूले १ खर्ब ६१ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ बराबरको बिमांक रकम हुने ४ लाख ३६ हजार ९७५ वटा बिमा लेख बिक्री गरेका छन्। त्यस्तै, ३ लघु जीवन बिमा कम्पनीहरूले १३ अर्ब ८१ करोड ४५ लाख रुपैयाँ बराबरको बिमांक रकम हुने १ लाख २ हजार ९३८ वटा बिमा लेख जारी गरेका छन्।