छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढी बास’ देखि भूमि बैंक र सुनौलो शुक्रबारसम्म

आर्थिक

छाँयानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नयाँ तथा नवप्रवर्तनात्मक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७ औं नगरसभाबाट पारित योजनामा ‘एक रात गमगढी बास’, भूमि बैंक स्थापना, ‘सुनौलो शुक्रबार’ जस्ता आकर्षक कार्यक्रम समावेश गरिएका छन् ।

नगर प्रमुख विष्णुकुमार भामले प्रस्तुत गरेको नीतिमा कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् व्यवस्थापन, लैंगिक तथा सामाजिक समावेशीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

पर्यटन प्रवद्र्धनको लक्ष्यसहित एक रात गमगढी बास अभियान सञ्चालन गरिने भएको छ । रारा ताल घुम्न आउने अधिकांश पर्यटक सदरमुकाम गमगढी प्रवेश नगरी फर्कने गरेको पाइएपछि पर्यटकलाई एक रात गमगढीमै बस्ने वातावरण बनाउन पहल गरिने नगरप्रमुख भामले बताए ।

नीति तथा कार्यक्रमको बुँदा नं. ९ अन्तर्गत सञ्चार क्षेत्रमा पनि विशेष कार्यक्रम समेटिएको छ । जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि यान्त्रीकरण, विपद् व्यवस्थापन, सडक सुधार, सूचना प्रविधि, रोजगारी सिर्जना, लैंगिक र सामाजिक समावेशीकरण र खेलकुद प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
यस वर्षका लागि ‘सुनौलो शुक्रबार’, ‘महिनाको एक दिन शैक्षिक बहस’, खुलामञ्च रंगशाला निर्माण, १० शैयाको नगर अस्पताल सञ्चालन, नगरबस खरिद, आगलागी नियन्त्रणका लागि दमकल खरिदजस्ता नयाँ कार्यक्रम समावेश गरिएको छ ।

नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले नीतिमा नागरिकका सुझावलाई समेट्ने प्रयास गरिएको बताउँदै नीति कार्यान्वयनमा जोड दिइने बताइन् । नेपाली कांग्रेसका जिल्ला सचिव लोकेन्द्र मल्लले विगतका नीति तथा कार्यक्रमको समिक्षा जरुरी रहेको बताए।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले नीतिगत तयारीअघि सरोकारवालासँग सुझाव संकलन गर्नुपर्ने बताए । नेपाली कांग्रेसका महासमिति प्रतिनिधि तिलक मल्लले नीति सबै नागरिकसम्म पुग्नुपर्ने धारणा राखे।
कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लले नीतिले दलित, महिला, पिछडिएका वर्ग र भूगोललाई समेट्नुपर्नेमा जोड दिए।

त्यसैगरी, मंगलबार सम्पन्न सोरु गाउँपालिकाको १६ औँ गाउँसभा तथा बजेट अधिवेशनमा अध्यक्ष धर्मबहादुर शाहीले २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल र मासिक रिचार्ज कार्ड वितरण गरिने घोषणा गरेका छन् ।

स्वास्थ्य स्वयंसेविकालाई सूचना प्रवाहमा सहजता ल्याउन सो योजना ल्याइएको हो। साथै, ‘एक पुरुष भत्ता’ कार्यक्रम पनि नीति अन्तर्गत समेटिएको छ ।

उपाध्यक्ष केशर बहादुर शाहीले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँको बजेट पेश गरे, जसमा पूँजीगत खर्चतर्फ २२ करोड २५ लाख ४२ हजार र चालु खर्चतर्फ ३५ करोड ६९ लाख ५ हजार ५८२ रुपैयाँ विनियोजन गरिएको छ ।