काठमाडौं । पाकिस्तानको हबिब बैंकले अब हिमालयन बैंकबाट पूर्ण रूपमा बाहिरिने तयारी गरेको छ। बैंकले आफूसँग रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुष्ट बिक्री गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै हबिबले सेयर बिक्री प्रक्रिया अगाडि बढाउनेछ। प्रति सेयर मूल्य ११२।८० रुपैयाँ प्रस्ताव गरिएको छ, जसअनुसार कुल मूल्य करिब ३ अर्ब १३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित हेरिटेज प्लाजा भवनमा रहेको बैंकको कानुनी विभागमा निवेदन दिनुपर्नेछ। उक्त अवधिभित्र सेयर बिक्री नभएमा सेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

हबिब बैंकले यसअघि २०७६ सालमै आफ्नो सेयर बिक्रीको प्रयास गरेको थियो। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (CDC Group) सेयर खरिदका लागि इच्छुक भए पनि संस्थापक सेयर खरिदमा पहिला विद्यमान सेयरधनीलाई प्राथमिकता दिने कानुनी व्यवस्थाका कारण त्यो सम्भव भएको थिएन।
हाल हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत संस्थापक सेयर रहेको छ।

