नेपाल–थाइल्याण्ड सम्बन्ध नयाँ उचाइमा: व्यापार, शिक्षा र पर्यटनसहित ८ महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सम्बन्ध अझै मजबुत बन्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न थाइल्याण्ड भ्रमणका क्रममा दुई देशबीच आपसी सहकार्य विस्तार गर्न ८ महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, “थाइल्याण्डसँग दुईवटा सरकारी र छवटा निजी क्षेत्रसम्बन्धी समझदारीमा सहमति भएको छ, जसले व्यापार, शिक्षा, पर्यटन र संस्कृतिमा नयाँ आयाम थप्नेछ।”
सरकारी तहमा भएका दुई महत्वपूर्ण समझदारी यस्ता छन्:
- पर्यटन क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता – दुवै देशबीच पर्यटक प्रवाहलाई सहज बनाउने तथा प्रवर्द्धनात्मक गतिविधिमा सहकार्य गरिने।
- सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता – सांस्कृतिक आदानप्रदान र सम्पदाको संरक्षणमा साझा पहल गरिने।
निजी क्षेत्रका छ समझदारी विविध क्षेत्र समेट्ने खालका छन्:
- नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सम्बन्धी समझदारी।
- नेपाल चेम्बर अफ कमर्सको पर्यटन तथा संस्कृति प्रवर्द्धन समिति र थाइल्याण्ड टुरिज्म काउन्सिलबीच पर्यटन प्रवर्द्धनमा सहकार्य।
- नेपाल उद्योग महासंघ र थाइ उद्योग महासंघबीच व्यापार र लगानी प्रवाह बढाउने समझदारी।
- काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच शैक्षिक तथा अनुसन्धान सम्बन्धी सहकार्य।
- जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालयबीच कृषि तथा वन क्षेत्रमा प्रविधि आदानप्रदान।
- नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालयबीच आँखा उपचार तथा अनुसन्धानमा सहकार्य।
प्रधानमन्त्री ओलीले यी समझदारीहरूले दुई देशबीचको सम्बन्धलाई व्यवहारिक बनाउँदै जनस्तरसम्म प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन |

