घरजग्गामा थुप्रिएको १० खर्ब: अर्थतन्त्रको गतिरोध, न लाभ, न लय

नेपालको घरजग्गा बजार अहिले एक निर्णायक मोडमा पुगेको छ । विगतमा नाफाको लोभमा थुप्रिएको लगानी, प्लटिङको व्यापकता र सस्तो कर्जाको सहारामा चुलिएको कारोबार अब बिस्तारै थमिन थालेको देखिन्छ । तथ्यांक अनुसार, हाल भइरहेको जग्गा र भवन कारोबारमध्ये करिब ९० प्रतिशत हिस्सा केवल नाफामुखी कारोबारका लागि हो, उत्पादनमूलक प्रयोजनका लागि होइन । यस्तो प्रवृत्तिले न केवल आर्थिक सन्तुलनमा असर पारिरहेको छ, अब यसले घरजग्गा बजारमै गहिरो संकट निम्त्याउने संकेत दिइरहेको छ ।  प्रस्स्तुत छ राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको फेसबुक वाल बाट साभार गरिएको उनको बिचार :

अहिले भएको प्लटिङ र घरजग्गा कारोबारमध्ये करिब १० प्रतिशत मात्र घर र व्यावशायिक भवन निर्माण र उद्योग-व्यवशाय तथा कृषि फार्म संचालनमा उपयोगको लागि हो । बांकि चाहिँ घरजग्गा कारोबारबाट नाफा हुन्छ भनेर गरिएको लगानी हो । पहिले नाफा भएकोले सबैले यसमा लगानी गरेका हुन् । फलस्वरुप देशको सबैजसो भूभाग प्लटिङ गरिएको छ, आगामी दशवर्षलाई पुग्छ ।

यसअघि कोरोनाले असर पारेका उद्योगी-व्यवशायीलाई राहत दिन उपलव्ध गराइएको कर्जा-पुनरकर्जा करिब रु ६ खर्ब र सहकारीहरुको करिब रु ४ खर्ब गरी रु १० खर्ब जति घुमाई-फिराई घरजग्गामा थप लगानी भएको थियो । अब त्यस्तो थप लगानी नहुने र पहिलेजस्तो घरजग्गामा लगानी गर्दा नाफा नहुने अवस्था भएकोले छिटै यो क्षेत्र चलायमान हुने गरी किनबेच हुने देखिंदैन ।

दोस्रो कुरा, हालसम्म घरजग्गाको कारोबारमा अवैध कमाई लगानी गर्ने, धेरैमा बेचेर कम मूल्य देखाउने, कर छल्ने र व्यापकरुपमा सम्पत्ति शुद्धिकरण हुने गरेको थियो । विभिन्न कारणहरुमध्ये यसलाई एक देखाउंदै नेपाल सम्पत्ति शुद्धिकरणको ग्रेलिष्टमा परेको छ । सो लिष्टबाट बाहिरिन अब चालिने कदमले पनि घरजग्गाको कारोबारमा शिथिलता आउनेछ । छानबिन हुंदा अहिलेका कतिपय ठूला लगानीकर्ताको “बाह्रबज्ने” संभावना छ ।

तेस्रो कुरा, नेपालको घरजग्गाको मूल्य हाम्रो अर्थतन्त्रको आकार र स्तरको तुलनामा अस्वाभाविक रुपले उच्च छ । यो मूल्यमा जग्गा खरिद गरेर उद्योग-व्यवशाय, विकास-निर्माणका परियोजना र कृषि व्यवशाय गर्न मूल्य प्रतिस्पर्धी हुंदैन । नेपालमा विदेशी लगानी सोचेजति आउन नसक्नुको एक कारण यो हो ।

सामान्यतया हाम्रोजस्तो अर्थतन्त्रमा घरजग्गाको कारोबारमा उतार-चढाव (बुम-बस्ट) को दशवर्षे चक्र चल्छ । नेपालमा यसअघि २०५६, २०६६ र त्यसपछि २०७८ (कोरोनाको कारण २ वर्ष पछि सरेको) को आसपासमा घरजग्गाको कारोबार र मूल्य उच्च बिन्दुमा पुगेर झरेको देखिन्छ ।

सरकार लगायत सबै क्षेत्रको प्रयास घरजग्गाको कारोबारलाई छिटोभन्दा छिटो लयमा ल्याउने हुनुपर्दछ । अन्यथा यसले अर्थतन्त्रलाई नै पछाडि धकेल्ने वा अघि बढ्न नदिने अवस्था आउनेछ ।