एराती काठमाण्डौबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई विमानमार्फत भैरहवा लगिएको छ । यती एयरलाइन्सको विमानबाट उनलाई आज बिहान भैरहवा पुर्याइएको हो ।
सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका उनलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि रातिनै प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको छ । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । आदेशको सूचना समेत नदिई पक्राउ गरिएको र पक्राउ पूर्जी नदिइएको भन्दै रास्वपा नेता कार्यकर्ताले विरोध गरेका छन् ।

आज र भोलि जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रकृया पुराएर मात्रै कारागार पठाइने प्रहरीको भनाइ छ ।
