काठमाडौं । जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित काठमाडौं क्लाइमेट विक २०२६ आयोजना हुने भएको छ ।
‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रमको उद्घाटन शुक्रबार अर्थात् अक्टोबर २ मा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने आयोजकले जनाएको छ ।
अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने कार्यक्रममा नीति निर्माता, सांसद, राजनीतिक दलका प्रतिनिधि, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, सीमान्तकृत तथा जलवायु प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी तथा विकास साझेदारहरूको सहभागिता रहनेछ ।
कार्यक्रमपछि अक्टोबर ५ मा सार्वजनिक फिल्म प्रदर्शनसमेत आयोजना गरिनेछ ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव भोगिरहेको आयोजकले जनाएको छ । बढ्दो तापक्रम, हिमनदी पग्लने क्रम, वर्षाको बदलिँदो स्वरूप, आकस्मिक बाढी तथा लामो खडेरीले पूर्वाधार, जीविकोपार्जन, कृषि र खाद्य सुरक्षामा थप दबाब सिर्जना गरिरहेको जनाइएको छ ।
पछिल्ला जलवायुजन्य विपद्, विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्ले जलवायु जोखिम छोटो समयमै राष्ट्रिय संकटमा परिणत हुन सक्ने देखाएको आयोजकको भनाइ छ ।
कार्यक्रममा जलवायु वित्तमा देखिएका अवरोध, तथ्याङ्क तथा अनुसन्धानको अभाव र जलवायु जोखिममा रहेका समुदायसम्म पर्याप्त स्रोत तथा सहयोग पुग्न नसक्ने संरचनात्मक चुनौतीबारे समेत छलफल हुनेछ ।
काठमाडौं क्लाइमेट विकको मूल अवधारणा स्थानीय समुदायका अनुभव र भुइँतहमा भइरहेका पहललाई राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्नु रहेको आयोजकले जनाएको छ ।
तीन दिनसम्म चल्ने विभिन्न संवाद तथा सत्रमार्फत स्थानीय अनुभवले राष्ट्रिय जलवायु प्राथमिकता तथा संयुक्त राष्ट्रसंघीय महासभादेखि कोप ३१ सम्म नेपालको अन्तर्राष्ट्रिय जलवायु कूटनीतिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा छलफल हुनेछ ।
कार्यक्रममा जलवायु न्याय, समावेशिता, जवाफदेहिता तथा क्षति र नोक्सानीलाई व्यवहारिक प्रतिबद्धतासँग जोड्ने विषयलाई प्राथमिकता दिइनेछ ।
अक्टोबर ३ मा १७ वटा समानान्तर सत्रमार्फत पाँच प्रमुख विषयमा छलफल हुने आयोजकले जनाएको छ । यी सत्रमा युवाको भूमिका, आदिवासी तथा सीमान्तकृत समुदाय, जलवायु वित्त, जैविक कृषि, चक्रीय अर्थतन्त्र, तथ्याङ्क, अनुसन्धान तथा कृत्रिम बुद्धिमत्ता, जलवायु उत्थानशील पूर्वाधार, निजी जलवायु वित्त र निजी क्षेत्रका नवप्रवर्तनलगायत विषयमा छलफल हुनेछ ।
हालैका आकस्मिक बाढी तथा अन्य विपद्पछि नेपालले जलवायु उत्थानशीलता कसरी सुदृढ गर्न सक्छ भन्ने विषयमा पनि छलफल गरिनेछ ।
अक्टोबर ४ मा अग्रपंक्तिका समुदाय तथा कार्यान्वयनका अनुभवलाई केन्द्रमा राखिनेछ । युवाको नेतृत्वमा जलवायु न्याय र रसुवा–भोटेकोशी बाढी विषयमा विशेष सत्र आयोजना हुनेछ भने सांसदहरूको सहभागितामा नेपालमा जलवायु न्यायसम्बन्धी संवाद सञ्चालन हुनेछ ।
काठमाडौं क्लाइमेट विकले सरकार तथा नीति निर्माता, स्थानीय तथा सीमान्तकृत समुदाय, आदिवासी जनजाति, वित्तीय संस्था तथा लगानीकर्ता, अनुसन्धानकर्ता, प्रविधिविद्, सञ्चारमाध्यम, युवा, नागरिक समाज तथा कूटनीतिक र विकास साझेदारलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्नेछ ।



