बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता पश्चात प्रधानमन्त्री ओली स्वदेश फर्किए

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा छैटौँ बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) शिखर सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्च पदस्थ अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत तथा थाइल्याण्डका कार्यवाहक राजदूत पनि विमानस्थलमा उपस्थित थिए। स्वागतअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली यही चैत १९ गते थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका समकक्षीसँग आपसी हित र चासोका विविध विषयमा भेटवार्ता तथा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन गरेका थिए। त्यसअघि, चैत २१ गते सम्मेलनमा सहभागी सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूका सम्मानमा आयोजित रात्रिभोजमा पनि सहभागी भएका थिए। शिखर सम्मेलनको सिलसिलामा उनले सदस्य मुलुकका नेताहरूसँग औपचारिक भेटघाटसमेत गरेका थिए।