आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा उल्लासमय होली मनाइँदै

विविध समाचार

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको सन्देश बोकेको यो पर्व परम्परागत रूपमा रङ र लोला खेल्दै मनाउने चलन छ। कटुता मेट्दै आपसी खुसी साट्ने दिनका रूपमा लिइने यस पर्वलाई ‘होली’ नामले पनि चिनिन्छ।

हिन्दू धर्मशास्त्रअनुसार, प्राचीन समयमा भक्त प्रल्हादले भगवान विष्णुको आराधना गर्दा राजा हिरण्यकश्यपलाई असह्य भयो। उनले प्रल्हादको हत्या गर्ने उद्देश्यले आफ्नी बहिनी होलिकाको मद्दत मागे। आगोले नजल्ने बरदान पाएकी होलिकाले प्रल्हादलाई लिएर बलिरहेको अग्निमा हाम फालेकी थिइन्। तर, दिव्य कृपाले प्रल्हाद सुरक्षित रहे भने होलिका स्वयं जलेर भस्म भइन्। यही धार्मिक कथाबाट प्रेरित हुँदै सत्यको विजयको प्रतीकस्वरूप होली पर्व मनाउने परम्परा रहिआएको विश्वास गरिन्छ।

फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाडिएसँगै फागु उत्सव सुरु हुन्छ। आज फागु पूर्णिमाको अवसरमा काठमाडौंको बसन्तपुरमा भेला भएका मानिसहरूले चीरलाई रंगीन बनाउँदै उल्लासपूर्वक पर्व मनाउँदैछन्। परम्पराअनुसार चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेल लगी जलाइन्छ, जसलाई ‘होलिका दहन’ भनिन्छ।

तराई–मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ। पहाडी क्षेत्रमा होलिका दहनसँगै होली समाप्त हुन्छ भने तराईमा होलिका दहन गरेपछि मात्र होली मनाइन्छ।

फागु पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।