काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को सहकार्यमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ। एआई, युवा उद्यमशीलता र भविष्यको रोजगारीलाई मुख्य विषय बनाइएको सम्मेलन असोज २३ गते काठमाडौँमा आयोजना गरिने भएको हो।
सम्मेलन आयोजनाका लागि सिबिफिन र एनबिआईबीच असोज ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ। ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ (NextGen Nepal: AI, Entrepreneurship & Employment for the Future) नारासहित आयोजना हुने सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलनले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगलगायतका विषयमा केन्द्रित भएर बैंकिङ तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने बताए।
उनका अनुसार सम्मेलनमार्फत युवा उद्यमीमा वित्तीय साक्षरता अभिवृद्धि, डिजिटल बैंकिङको प्रयोग विस्तार र जिम्मेवार कर्जा उपयोगको संस्कार विकाससँगै बैंक तथा वित्तीय संस्थाका नवीन वित्तीय उत्पादनलाई लक्षित वर्गसम्म पुर्याउन र उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए। उनले नीतिगत व्यवस्था, स्टार्टअपका लागि बीउ पुँजी तथा युवा उद्यममा वित्तीय पहुँचजस्ता विषय बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेकाले सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने बताए।
आयोजकका अनुसार सम्मेलनमा देशभरबाट करिब ४०० उद्यमी, व्यवसायी तथा सरोकारवाला सहभागी हुनेछन्। सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण र लगानीको वातावरण सुधारका लागि आवश्यक दिशाबोध गर्ने अपेक्षा गरिएको छ।
हाल बाह्य आर्थिक सूचकहरू तुलनात्मक रूपमा बलियो रहेको तथा पर्याप्त तरलता र न्यून ब्याजदरको अवस्था रहेको उल्लेख गर्दै आयोजकले सम्मेलनले स्टार्टअप, नवप्रवर्तन, नयाँ प्रविधि तथा नवीन व्यवसायिक क्षेत्रमा कार्यरत र प्रवेश गर्न चाहने युवा उद्यमीलाई आवश्यक मार्गदर्शन उपलब्ध गराउने जनाएको छ।
सिबिफिन र एनबिआईको सहकार्यमा आयोजना हुने सम्मेलनले नेपालको वित्तीय क्षेत्रको दिगो विकास तथा युवा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउने आयोजकको विश्वास छ।


