A New Face in the CEO Club: गोविन्द घिमिरे बने एनएमबी बैंकका नयाँ सीईओ

अर्थ समाचार

काठमाडौं । एनएमबी बैंकले नयाँ नेतृत्व चयन गर्दै गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)का रूपमा कार्यरत घिमिरेले अब संस्थाको बागडोर सम्हाल्नेछन्। उनी लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी ब्यक्ति हुन्।

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई कार्यकाल (८ वर्ष) सफलतापूर्वक पूरा गरेका छन्। उनको कार्यकाल यही फागुन मसान्तमा समाप्त हुँदैछ। बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्व केसीको नेतृत्वमा एनएमबी बैंकले उल्लेखनीय प्रगति गरेको थियो। अब घिमिरेको नेतृत्वमा बैंकले थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

गोविन्द घिमिरेको नेतृत्वमा बैंकले नयाँ रणनीति अघि बढाउने अनुमान गरिएको छ। डिजिटल बैंकिङ, वित्तीय नवाचार र ग्राहक सेवामा सुधार उनका प्रमुख प्राथमिकता हुन सक्छन्। बैंकिङ क्षेत्रमा परिवर्तनशील वातावरणका बीच उनले संस्थालाई अझ प्रतिस्पर्धी बनाउन सक्छन् भन्ने विश्वास बैंकिङ क्षेत्रका जानकारहरूले गरेका छन्।