ट्रम्प–जेलेन्स्कीबीचको बहसबारे कसले के भने ?

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको वार्ता भनाभनमा टुङ्गिएको छ। युक्रेन र रूसबीच जारी विवादलाई लिएर आयोजित यस वार्तामा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि अनेकौँ आरोप लगाएपछि स्थिति तनावपूर्ण बनेको थियो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रूससँगको युद्ध दुई सातामा सकिने बताएका थिए। यसपछि भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी बीचमै छोडेर बाहिरिएका थिए।

यस घटनापछि विश्वभरका नेताहरूका प्रतिक्रिया आएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको समर्थन गर्दै रूसले अवैध र अनुचित ढंगले आक्रमण गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तीन वर्षदेखि युक्रेन साहसका साथ जवाफी कारबाही गर्दै रूसको सामना गरिरहेको छ। युक्रेनको लडाई लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताका लागि हो, यो सबैका लागि अर्थ राख्छ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि युक्रेनको समर्थन गर्दै रूसले आक्रमण गरेको र युक्रेनीहरूलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

पोल्यान्ड, स्पेन, नर्वे, स्वीडेन, आयरल्यान्ड लगायतका देशका नेताहरूले पनि युक्रेनप्रति समर्थन जनाएका छन्। ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गर्दै युक्रेनको सम्प्रभुता र सुरक्षालाई ध्यानमा राख्दै शान्तिको बाटो खोज्ने प्रयास जारी राख्ने बताएका छन्।

अमेरिकी नेताहरूले पनि यस घटनाप्रति प्रतिक्रिया जनाएका छन्। विदेशमन्त्री मार्को रूबियोले वार्तालाई पूर्णतया असफल भन्दै जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन्। डेमोक्रेटिक सांसद चक शुमरले ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई दोषी ठहराउँदै स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल्यै नरोकिने बताएका छन्।

यो घटनाले युक्रेन–रूसबीचको विवाद समाधानका लागि भइरहेको कूटनीतिक प्रयासमा थप चुनौती खडा गरेको छ। विश्वभरका नेताहरूले शान्ति स्थापना र विवाद समाधानका लागि संवाद र कूटनीतिक प्रयास जारी राख्नुपर्नेमा जोड दिएका छन्।