कुकुरलाई मोटरसाइकलमा बाँधेर मरणासन्न हुने गरी घिसार्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । पोखरा महानगरपालिका–२२ का खुसीराम बराललाई बैदाम प्रहरीले पक्राउ गरेको हो ।
कुकुरलाई मोटरसाइकलमा बाँधेर दौडाइरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको खोजी गरेको थियो । भिडियो सार्वजनिक भएपछि बराललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
बरालले पोखरा बजारबाट कुकुरलाई मोटरसाइकलमा बाँधेर स्याङ्जातर्फ कुदाएका थिए । करिब पाँच किलोमिटर पर पुर्याइसकेपछि कुद्न नसकेको कुकुर घिस्रिन थालेपछि पनि बरालले छाडेका थिएनन् ।

तर, सोही बाटोबाट स्याङ्जातर्फ जाँदै गरेका केही युवाले त्यो दृष्यको भिडियो बनाउँदै कुकुरलाई उद्धार गर्न सघाएका थिए । उनीहरूले कुकुरमाथि ज्यादती गरेको भन्दै त्यसो नगर्न आग्रह गर्दा बरालले कुकुरले थाकेको नाटक गरेको जस्ता प्रतिक्रिया दिएका थिए । ती युवाहरूले नै पानी ल्याएर कुकुरलाई पिलाएका थिए ।

