काठमाडौं : सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत ८ वर्ष अवधिका लागि थप १० अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । आज विहीबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८९ नामको ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको छ ।
विकास ऋणपत्र २०८९ को माघ १० गते विहीबार विहान १० बजेदेखि अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने माघ ११ गते शुक्रबार निष्कासन हुने जनाइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । सो ऋणपत्रको २०८९ माघ १० गते सावाँ भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ ।



