लेबनानले निरन्तर रकेट आक्रमण गरेपछि इजरायलको क्षेप्यास्त्र प्रतिरोधात्मक प्रणाली सक्रिय

अन्तराष्ट्रिय

इजरायलको आइरन डोम क्षेप्यास्त्र प्रतिरोधात्मक प्रणाली सक्रिय भएको छ । लेबनानबाट दर्जनौं क्षेप्यास्त्र र रकेट प्रहार भएसँगै इजरायलको आइरन डोम सक्रिय भएको हो ।

मध्यपूर्वमा अवस्था थप गम्भीर भएसँगै धेरै राष्ट्रहरुले आफ्ना नागरिकलाई सक्दो चाँडो लेबनान छाड्न निर्देशन दिएका छन । शनिबार राती  २५ मिनेट पछि हिज्बबुल्लाहले उत्तरी इजरायलको बेइट हिल्लेल सहरमा दर्जनौं रकेट प्रहार गरेको हो ।

रकेट र क्षेप्यास्त्र आक्रमणमा मानवीय क्षति भए वा नभएको जानकारी आएको छैन । तेहरानमा भएको हमास प्रमुख इस्मायल हानियाको मृत्यु इजरायलका कारण भएको आरोप लगाएको इरानले इजरायलसँग कडा बदला लिने बताएको थियो ।

इरानको समर्थन रहँदै आएको लेबनान आधारित हिजबुल्लाहको यस्तो बदलामा ठूलो भूमिका हुने देखिन्छ भने प्रतिकारमा इजरायलबाट पनि कडा प्रतिक्रिया आउने अनुमान छ । बेरुतमा रहेको अमेरिकी राजदुतावासले अमेरिकी नागरिकहरुलाई सकेसम्म चाँडो लेबनान छाड्न आग्रह गरेको छ भने वेलायतका पररास्ट्र सचिव डेविड ल्याम्मी, जर्डनको पररास्ट्र मन्त्रालय र क्यानडाले पनि आफ्ना नागरिकहरुलाई मध्य पूर्वको बिग्रदो परिस्थितिबारे सचेत र सुरक्षित रहन भनेका छन् ।

 यसैबीच अमेरिकाले इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन लेबनानमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ । बेलायतले पनि अतिरिक्त सैन्य कर्मचारी, कन्सुलर कर्मचारी र सीमा बल अधिकारीहरू लेबनानमा तैनाथ गरेको छ ।

बेलायतले दुईवटा ब्रिटिश सैन्य जहाजहरू पहिले नै तैनाथी अवस्थाामा राखेकोमा हाल भने रोयल एयर फोर्स हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ । यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् । यसैबीच, इजरायलको एक हवाई आक्रमणमा गाजको एक विद्यालयमा १७ जनाको मृत्यु भएको छ ।

 विद्यालय हमासले आफ्नो शैन्य गतिविधिका लागि प्रयोग गर्दै आएको थियो । हमासले सो आरोप खण्डन गरेको छ ।