आठ दिनसम्म मनाइने उपत्यकाको चर्चित जात्रा इन्द्रजात्राको मूल कार्य आज (शुक्रबार) सुरु हुनेछ । उपत्यकाका नेवार समुदायको मुख्य पर्वका रूपमा रहेको यस जात्रामा विभिन्न देवीदेवताको नाच प्रदर्शन गरिन्छ । जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार जात्राको मुख्य दिन शुक्रबार दिउँसो चार बजे रथारोहण साइत छ ।
यसअघि बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लिंगो (यःसी) ठड्याइको थियो । शुक्रबार बिहान दुई बजे वसन्तपुरस्थित गद्दी बैठकअगाडि रहेको कुमारीघरमा रहेको कुमारी, गणेश र भैरवको पूजा गरेपछि जात्रा प्रारम्भ भएको मानिनेछ । रथ यात्रा गर्नुअघि दिउँसो साढे तीन बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथ र कलश पूजा गर्नेछिन् । त्यसपछि चार बजे रथ गुडाउन सुरु हुनेछ ।
सन्तपुर गद्दी बैठकअगाडिबाट मरुटोल, जैशीदेवल, लगनटोल, ब्रह्मटोल, ह्युमटसम्म रथ पुर्याइनेछ । त्यहाँबाट रथलाई पुनः जैसीदेवलतर्फ फर्काइनेछ । त्यसपछि पनि रथलाई कोहिटी ओरालो हुँदै भीमसेनथान ल्याइनेछ । त्यहाँबाट रथलाई पुनः मरुटोल हुँदै गद्दी बैठकमै पुर्याइनेछ ।

यसको साथसाथै श्रीलाखे आजु, श्री हलचोक आकाश भैरव, श्री पुलुकिशी (ऐरावत हात्ती), देवीनाच, श्री श्वेत भैरवलगायत सबैजसो देवीदेवताको नाच प्रदर्शन गरिनेछ ।
उनका अनुसार इन्द्रजात्रा आयोजनाका लागि २९ वटा गुठीको सहकार्य छ । दिनैपिच्छै फरक–फरक र अनौठा नाच तथा गतिविधि देखाइने इन्द्रजात्रा २९ भदौमा सकिनेछ । २९ भदौमा राष्ट्रपतिले टीका र प्रसाद ग्रहण गरेपछि जात्रा सकिन्छ ।
किम्बदन्ती
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ। इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।
विषेश महत्व
नेपाल एकिकरणको परिप्रेक्षमा यस दिनको विशेष मह्त्व छ । यही दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए ।
