मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध दुर्व्यवहारको उजुरी

विविध

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठमाथि दुर्व्यवहारको आरोप लागेको छ । अस्पतालमै काम गर्ने एक महिला चिकित्सकले उनीविरुद्ध उजुरी हालेकी हुन् । उनले आफूलाई कार्यक्षेत्रमा दुर्व्यवहार गरेको; चरित्रहत्या गरेको; मानसिक यातना दिएको भन्दै ४ वटा निकायमा उजुरी दिएकी छन् । उनले अस्पतालको बोर्डको सँगै नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेलमा पनि उजुरी गरेकी छन् ।

ती महिला चिकित्सकका अनुसार डा श्रेष्ठले उनलाई कार्यालय क्षेत्रमा बारम्बार दुर्व्यवहार गर्ने र अपरेसन थियटरमा पनि जथाभावी भन्दै आएको आरोप लगाइन् । कान्तिपुरसित कुरा गर्दै उनले भनिन्‚ ‘मेरो चरित्रमाथि लान्छना लगाउने; मलाई असक्षम देखाउनलाई अनैकौ हल्ला फैलाउदै हिड्ने; अस्पतालको बैठकमा पनि दुर्वचन प्रयोग गर्ने; मौखिक दूर्व्यवहार गर्ने; मानिसक प्रताडना दिने; जागिरबाट निकाल्दिन्छु भनेपछि मैले उजुरी हालेको हुँ ।’

उनका अनुसार उजुरी परेपछि झन् आफूलाई धम्की आइरहेको बताउँछिन् । ‘कार्यालय जाँदा होस्टाइलको वातावरण बनाइएको छ । छानबिन हुन थालेपछि मान्छेहरू लगाएर धम्की दिइराख्ने; काम गर्न लाग्दा ओटिबाट निकाल्दिने; अपरेसन गर्न नदिने; गर्न नदिएर यसले गर्न सक्दैन भनेर हतोत्साही गराउने काम भइरहेको छ,’ उनले भनिन् ।

मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्ण अधिकारीका अनुसार उजुरी परेको र छानबिन भइरहेको बताए । आरोपबारे डा. श्रेष्ठले शतप्रतिशत झुटो आरोप भएको भन्दै आवश्यक कारबाही अघि बढेको बताए । ‘मैले यसम स्पष्टीकरण दिन चाहन्न । आवश्यक कारबाही अघि बढेको छ । चाँडै नै सत्यतथ्य बाहिर आउँछ,’ उनले भने ।