कोरोना संक्रमतिको बढ्दो संख्या र लकडाउनको सम्भावनाका कारण दशैंको अग्रिम टिकट बुकिङमा अन्यौलता

विविध

नेपालीहरूको ठूलो चाड दशैँ आउन तीन साता मात्र बाँकी रहँदा काठमाडौँबाट बाहिरिनेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । कोरोना संक्रमतिको बढ्दो संख्या र लकडाउनको सम्भावनाका कारण पनि व्यवसायी बुकिङ खुलाउन हच्किएका छन् ।

अघिल्ला वर्षहरूमा दशैँ आउन एक महिना रहँदा काठमाडौँ उपत्यकाबाट बाहिरिनेका लागि यातायातका अग्रिम टिकट बुकिङ खुलिसकेको हुन्थ्यो । यो वर्ष दशैँ शुरु हुन तीन साता मात्र बाँकी हुँदा टिकट बुकिङ खुलाउने टुंगो लागेको छैन । कोरोना संक्रमणको त्रास र सार्वजनिक यातायातमा लागेको विभिन्न नियमका कारण यातायात व्यवसायी अन्योलमा छन् । ट्राफिक प्रहरीले पनि यसपालि दशैँमा कसरी यातायात व्यवस्थापन गर्ने भन्ने योजना बनाइसकेको छैन । यस विषयमा व्यवसायी तथा मजदूरसँग छलफल गरेर मात्रै निर्णय लिने  तयारीमा छ, महानगरीय ट्राफिक प्रहरी महाशाखा ।

यसअघि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण धेरै मानिसले यसअघि नै उपत्यका छाडेका छन् । यसले गर्दा यातायात व्यवसायीले दशैँमा उपत्यकाबाट बाहिरिने कति छन्, कति सवारी साधनको आवश्यकता छ भन्ने अनुमान गर्न सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयले साता १० दिनमै लकडाउन हुनसक्ने संकेत गरेकाले यातायात व्यवसायी झन् हच्किएका छन् । दशैँका वेला पहिलेजस्तै यात्रु बोक्न पाउनुपर्ने उनीहरूको अडान र नियम कडाइका साथ पालना गर्न लगाउने सरकारको चेतावनीका कारण पनि अग्रिम टिकट बुकिङ हुन सकेको छैन ।