ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको जंगलमा ०७२ वैशाखमा आरती परियारको हत्या भयो । वैशाख–१२ को महाभुकम्पको त्रासको बिचमा चापागाउँ बस्ने २६ वर्षीया परियारलाई दुईजना युवाले घाँटी रेटेर मारेका थिए ।
ईटहरी नगरपालिका–४ घर भएकी आरतीको हत्यामा संलग्न आरोपी ५ बर्षपछि पक्राउ परेका छन् । हत्यापछि फरार भएका सिराहा विष्णुपुरका रविकुमार यादवलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । यादवलाई लगातारको निगरानीपछि मैतिदेवीबाट पक्राउ गरिएको छ । रवि र अर्का एकजना युवाले गोदावरी स्थित फैडेल सामुदायिक बनमा लगेर आरतीको हत्या गरेका थिए ।
हत्यामा संलग्न अर्का एकजना अझै फरार छन् । उनको खोजी भईरहेको छ । ०७२ वैशाख १५ मा आरतीको हत्यापछि रवि कुमार लामो समय भारतको बैंङ्गलोरमा गएर बसेका थिए । उनी नेपाल फर्केको सुराक पाएपछि प्रहरीले उनलाई पिछा गरेको थियो । बिहिबार पक्राउ गरिएका हत्या आरोपीलाई आवश्यक कारवाहीका लागी महाशाखाले महानगरीय प्रहरी वृत चापागाउँमा पठाएको छ ।

