सरकारले क्लिन फिड लागू गर्न खोजेकोमा केवल सञ्चालकले गरे सेवा बन्द , उपभोक्ता आक्रोसित

विविध

काठमाडौं, १० असार । विदेशी टेलिभिजन च्यानलबाट नेपालमा प्रशारण हुने विज्ञापनलाई रोक्ने व्यवस्था (क्लिन फिड) सरकारले लागू गर्न खोजेको छ । त्यसको लागि विज्ञापन सम्बन्धी विधेयक बनी संसदमा दर्ता पनि भएको छ । तर यसको विरोधमा केवल टेलिभिजन व्यवसायीहरु देखिएका छन् । केवल संचालकले शुल्क लिएर सेवा बन्द गरेकोमा उपभोक्ता आक्रोसित भएका छन् । विज्ञापनरहित टेलिभिजन प्रसारण गर्न सरकारले राष्ट्रिय सभामा विज्ञापन सम्बन्धी विधेयक दर्ता गरेको छ । सरकार कानून बनाएरै क्लिन फिड लागू गर्ने निर्णयमा पुगेपछि टेलिभिजन सेवाप्रदायक संस्थाहरुले सरकारको विरोधमा विदेशी टेलिभिजनको प्रशारण बन्द गरे । सोमबार ३ बजेदेखि विदेशी च्यानलको प्रसारण बन्द भएको हो । क्लिन फिड लागू भएमा नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन स्वरुप विदेशी च्यानल बन्द गरिएको हो ।क्लिन फिड नीति लागू गर्नुपर्ने भए विदेशी च्यानल हेर्नलाई धेरै पैसा तिर्नुपर्ने र त्यो पैसा उपभोक्ताबाट असुल गर्नुपर्ने व्यवसायिको भनाई छ । संसदमा विचाराधीन विज्ञापन विधेयकको विरोध स्वरूप केबल टेलिभिजन व्यवसायीले २४ घण्टाका लागि विदेशी च्यानल प्रसारण रोकेका हुन् । व्यवसायीको यो व्यवहार गैरकानुनी तथा गैरव्यावसायिक भएको सरोकारवालाहरुको भनाई छ ।सरकारले नेपाली विज्ञापनको बजारलाई व्यवस्थित गर्न र टेलिभिजनको नाममा हुने अर्बौं बराबरको राजश्व र कर छलीलाई नियन्त्रण गर्न क्लिनफिड लागू गर्न लागेको हो । व्यवसायीले यसको विरोध गरे पनि सर्वसाधारणले भने यसको स्वागत गर्दै समर्थन गरेका छन् ।शुल्क लिएर च्यानल बन्द गराएकोमा उपभोक्ताहरु केवुल व्यवसायीप्रति आक्रोसित भएका छन् । सेवाको भुक्तानी गरिसकेकाले तिरिसकेको मूल्यको सेवा बन्द गर्नु उचित नहुने सेवाग्राहीको गुनासो छ ।नेपालमा करिब डेढ सय जति विदेशी च्यानल प्रसारणमा रहेका छन् । जसमा विदेशी विज्ञापन बज्ने गरेका छन् । विज्ञापन प्रसारणवापत केवुल संचालकले सरकारलाई केही तिरेका छैनन् । नेपाली च्यानलले सरकारलाई कर तिर्ने तर विदेशी च्यानलले कर नतिरी निस्फ्रिकी विज्ञापन प्रसारण गर्दै आएकोमा सरकारले त्यसको अन्त्य गर्न खोजेको छ । यसबाट नेपाली विज्ञापनको बजार प्रबद्र्धन हुने विश्वास गरिएको छ । व्यवसायिले यसको विरोध गरे पनि आम जनता भने क्लिन फिडको पक्षमा देखिन्छन् ।