भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण

विविध

काठमाडौं, १० असार । सरकारले विदेशबाट आयात हुने आलु, प्याज लगायत तरकारीजन्य वस्तुमा विषादी प्रयोग भए नभएको परिक्षण थालेको छ । विषादी प्रयोग नभएको भनी प्रमाणित भएपछि मात्रै भन्सारबाट आयात गर्नेे प्रावधान लागू गरिएको छ । सरकारको यो प्रावधानसंगै भैरहवा नेपालगञ्ज लगायत भन्सार नाका हँुदै नेपाल भित्रिने सयौं मालवाहक ट्रक अलपत्र अवस्थामा सीमामै थन्किएका छन् ।असार २ गतेदेखि यो व्यवस्था लागु गरिएसंगै भारतबाट आउने तरकारी तथा फलफुलका गाडीहरुलाई भन्सारमा रोकि चेकजाँच शुरु गरिएको छ । विषादी प्रयोग भएका गाडीलाई सीमामा नै रोक्ने व्यवस्था गरिएपछि धेरै मालबाहक गाडी सीमानामै रोकिन थालेको छ । यो व्यवस्थाको व्यापारीहरुले विरोध गरेका छन् । परीक्षणको व्यवस्था नहुँदै र पुर्व जानकारी विना नै यस्तो नियम ल्याएको भन्दै आयातकर्ताहरु आक्रोसित भएका छन् । विषादी परीक्षणको लागि भन्सारमा मालबाहक गाडी रोकिए पनि जिवनाशक बिषादीको अवशेष परिक्षण गर्ने कुनै संयन्त्र भने अझै छैन । उपभोक्ता समितिको गुनासोकै कारण भारतबाट भित्रिएको हरियो सागसब्जी तथा फलफुलको ल्याव परिक्षण गरेर मात्र भित्राउनु पर्ने व्यवस्था ल्याइएको हो ।आयातित तरकारी तथा फलफुलमा जिवनाशक बिषादीको अवशेष परिक्षण अनिवार्य गरिनु राम्रो भएको भन्दै नेपाली उपभोक्ता खुशी भएका छन् । यसको सदुपयोग गर्न सके नेपाल तरकारीमा आत्मनिर्भर बन्ने विश्वास पनि गरिएको छ ।यसअघि सरकारले खसीबोका, बाख्रामा पनि कडाई गरेपछि गएको फागुनदेखि नेपालमा खसीबोका भित्रिएका छैनन् । खसीबोका भित्रयाउँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को नियमावली ५६ अनुसार अन्तराष्ट्रिय स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने भएपछि भारतीय व्यवपारीले उक्त प्रमाणपत्र पेश गर्न नसक्दा खसीबोका आयत स्वतः रोकिएको हो ।