प्रकाश सुवेदीले मानहानी गरेको नायिका पूजा शर्माको दाबी

विविध

नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो शारिरीक हाउभाउलाई लिएर अत्यन्त छुद्र शब्द प्रयोग गरेर मानहानी गरेको बताएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन् ।

अन्तरवार्ताका लागि प्रकाश सुवेदीले बोलाउँदा आफू विगतको अन्तरवार्ताबाट मानसिक तनावमा रहेकोले आउन नसकेको बताउँदा एपी वान टेलिभिजनमा रजतपट फिल्मी कार्यक्रम सञ्चालन गर्ने प्रकाश सुवेदीले अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गरेको जिकिर गरेकी छन ।

नायिका पूजाले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुले प्रकाशलाई प्राइमटाइम टेलिभिजनमा अन्तरवार्ताका क्रममा गल्तीहरु बोलेकोले इडिट गरेर प्रकाशित गर्न अनुरोध गरेपनि पछि इडिट नगरी प्रकाशित गरिदिएको समेत बताएकी छन् । अन्तरवार्तामा आफुबाट गल्ती भएको अन्तरवार्ता प्रकाशित भएपछि चैं आफु ट्रोलको शिकार भएको र पुनः त्यस्तै हुने होकी भनेर सचेत भएर प्रकाश सुवेदीले बोलाउँदा जान नसकेको बताएकी छन् ।