काठमाडौं । एएचएफ नेपालले विश्व एड्स दिवसको अवसर पारेर आगामी डिसेम्बर १ (मंसिर १६) मा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने भएको छ।
संस्थाले बुधबार काठमाडौंस्थित होलिडे इन एक्सप्रेसमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। संगीत र मनोरञ्जनमार्फत एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको एएचएफ नेपालले जनाएको छ।
कन्सर्टलाई मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ। सांगीतिक प्रस्तुतिका अतिरिक्त कार्यक्रममार्फत समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहन गर्ने, उपचारको महत्त्वबारे जानकारी फैलाउने तथा एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माणमा जोड दिइनेछ।
त्यसैगरी, एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र विभेदविरुद्ध एकजुट हुनुपर्ने आवश्यकतालाई पनि कार्यक्रमले प्राथमिकता दिनेछ। संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत खुला संवादलाई प्रोत्साहन गर्दै गलत धारणाहरू हटाउने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना विकास गर्ने एएचएफ नेपालको उद्देश्य छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले खल्ती (Khalti) एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन्। खल्तीमार्फत सहज रूपमा दर्ता प्रक्रिया पूरा गरी कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ।
सांगीतिक कन्सर्टले कलाकार, दर्शक र आम समुदायलाई एउटै मञ्चमा जोड्दै मनोरञ्जन, जनचेतना र पैरवीलाई एकीकृत गर्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम व्यवस्थापन तथा सञ्चार समन्वयको जिम्मेवारी मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले सम्हालेको छ।



