स्थानीय सरकारको नेतृत्वमा सिरहामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

समाज

सिरहा । स्थानीय तथा प्रदेश सरकारको नेतृत्वमा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । विगतका वर्षमा मुख्यतः सामाजिक संघसंस्थाको अगुवाइमा सञ्चालन हुँदै आएको अभियान यस वर्ष स्थानीय सरकारको नेतृत्व र विभिन्न संघसंस्थाको सहकार्यमा अघि बढाइएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानअन्तर्गत सिरहाको धनगढीमाई र गोलबजार नगरपालिकामा ¥याली, कोणसभा तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् । त्यस्तै, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनकपुरधाममा प्रभातफेरी आयोजना गरी अभियान सुरु गरेको छ ।

धनगढीमाई नगरपालिकाको आयोजनामा मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्र, सहारा नेपाललगायत संस्थाको सहकार्यमा अभियान शुभारम्भ गरिएको हो । नगरपालिकाबाट सुरु भएको ¥याली विभिन्न स्थान परिक्रमा गर्दै जिरोमाइल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नगरप्रमुख शिवशंकर महतोले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि अभियानलाई १६ दिनमा मात्र सीमित गर्न नहुने बताए । प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकाय जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख संगीता चौधरीले महिलामाथि हुने हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताइन् । सामाजिक डर, लाज र पारिवारिक दबाबका कारण पीडितले अन्याय सहेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । हिंसापीडितलाई न्याय, सुरक्षा र आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उनले बताइन् ।

त्यस्तै, गोलबजार नगरपालिकाले पनि विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा ¥याली तथा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा मुक्ति नेपालको नाटक टोलीले डिजिटल हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गर्दै अनलाइन माध्यमबाट हुने दुव्र्यवहार र त्यसबाट बच्ने उपायबारे सचेतना फैलाएको थियो ।

गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती कुमारी साहले हिंसाका घटना लुकाउने वा सहेर बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । पीडितलाई न्याय र संरक्षण उपलब्ध गराउन नगरपालिका न्यायिक समितिमार्फत संवेदनशील भएर काम गरिरहेको उनले उल्लेख गरिन् ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले पनि सामाजिक संघसंस्थासँगको सहकार्यमा जनकपुरधाममा प्रभातफेरी आयोजना गरेको छ । डिसेम्बर १० सम्म प्रदेशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी महिला अधिकारकर्मी तथा मानवअधिकारकर्मीहरूले हिंसापीडितलाई न्याय र संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले हिंसामुक्त समाज निर्माणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

यस वर्ष स्थानीय तथा प्रदेश सरकारले अभियानको नेतृत्व लिनुलाई लैङ्गिक हिंसा रोकथामका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ । सहभागीहरूले अभियानलाई औपचारिक कार्यक्रममै सीमित नराखी वर्षभरि नै व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।