Liquidity Parking Economy: राष्ट्र बैंकको वासलात चार महिनामै २.५९ खर्बले बढेर ४१.३४ खर्ब!

Sticky News बैंक/वित्त

विदेशी मुद्रा सम्पत्ति २ खर्ब ५९ अर्बले वृद्धि, बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब १४ प्रतिशत बढ्दा चलनचल्तीको नोट १२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल वासलात चालु आर्थिक वर्षको पहिलो चार महिनामा २ खर्ब ५९ अर्ब २७ करोड रुपैयाँले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ४१ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा राष्ट्र बैंकको कुल वासलात ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ थियो । यस अवधिमा वासलातको आकार ६.६९ प्रतिशतले बढेको हो ।

वासलात विस्तारमा विदेशी मुद्रा सम्पत्तिको वृद्धि मुख्य आधार बनेको छ । कात्तिक मसान्तसम्म राष्ट्र बैंकको विदेशी मुद्रा सम्पत्ति ३९ खर्ब ८९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सम्पत्ति ३७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ थियो । चार महिनामा विदेशी मुद्रा सम्पत्ति २ खर्ब ५९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् ६.९७ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको कुल सम्पत्तिमा विदेशी मुद्रा सम्पत्तिको हिस्सा ९६.५१ प्रतिशत पुगेको छ । विदेशी धितोपत्रमा गरिएको लगानी बढेर २९ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो लगानी २६ खर्ब २३ अर्ब २८ करोड रुपैयाँ थियो ।

त्यस्तै, विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप भने घटेको छ । असार मसान्तमा ६ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तमा ५ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ । विदेशी बैंकमा रहेको नगद तथा मौज्दात भने २ खर्ब ५३ अर्ब ५२ करोडबाट बढेर २ खर्ब ८५ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

सुन प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्बन्धित सम्पत्ति १७ अर्ब ८२ करोड रुपैयाँ छ ।

स्थानीय मुद्रामा रहेको सम्पत्ति भने सामान्य घटेको छ । असार मसान्तमा १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ रहेको यस्तो सम्पत्ति कात्तिक मसान्तमा १ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । यसमा सुन तथा चाँदीको सम्पत्ति ९१ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

चलनचल्तीको नोट ८ खर्ब ९८ अर्ब

राष्ट्र बैंकको दायित्वतर्फ स्थानीय मुद्रामा रहेको दायित्व १०.९५ प्रतिशतले बढेर ३० खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो दायित्व २७ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ थियो ।

कात्तिक मसान्तसम्म चलनचल्तीमा रहेको नोटको मूल्य ८ खर्ब ९८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो रकम ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ थियो । चार महिनामा चलनचल्तीको नोट ९६ अर्ब ९२ करोड रुपैयाँ अर्थात् १२.०९ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको स्थानीय मुद्राको निक्षेप पनि उल्लेख्य बढेको छ । असार मसान्तमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तमा ८ खर्ब ४० अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो १ खर्ब १४ प्रतिशतको वृद्धि हो ।

सरकारी निक्षेप पनि बढेर ३ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा सरकारको निक्षेप १ खर्ब ८६ अर्ब रुपैयाँ थियो । यस अवधिमा सरकारी निक्षेप ७१.३८ प्रतिशतले बढेको हो ।

तर, बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने दायित्व भने घटेको छ । असार मसान्तमा १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ रहेको यस्तो दायित्व कात्तिक मसान्तमा ९ खर्ब १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । चार महिनामा यस शीर्षकको दायित्व ३ खर्ब ५९ अर्ब १० करोड रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकको विदेशी मुद्रामा रहेको दायित्व पनि ४.४३ प्रतिशतले घटेर ४९ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । असार मसान्तमा यस्तो दायित्व ५१ अर्ब २९ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा यथावत् छ । सञ्चिति भने असार मसान्तको १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँबाट घटेर १० खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँमा झरेको छ ।