काठमाडौं । १५औँ युरोपेली युनियन फिल्म फेस्टिभल नेपाल २०२६ को काठमाडौं संस्करण सम्पन्न भएको छ। नोभेम्बर २१ र २२ मा काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजित महोत्सवमा १ हजार ५०० भन्दा बढी दर्शक सहभागी भएका छन्।
महोत्सवमा चलचित्रकर्मी, विद्यार्थी तथा फिल्मप्रेमीको सहभागिता रहेको आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन भएको काठमाडौं संस्करणमा ११ देशका २९ वटा फिल्म प्रदर्शन गरिएको थियो।
प्रदर्शित फिल्ममध्ये १२ वटा युरोपेली फिल्म, ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) का ६ वटा छोटा फिल्म, नेपाली विद्यार्थीले निर्माण गरेका ९ वटा फिल्म र ‘इनसेसन्ट रेन’ को एउटा फिल्म समावेश थिए।
‘सीमा’लाई उत्कृष्ट विद्यार्थी फिल्म अवार्ड
यस वर्षको महोत्सवको विशेष आकर्षण नेपाली विद्यार्थी फिल्म प्रदर्शन तथा अवार्ड कार्यक्रम रह्यो। नवोदित नेपाली फिल्म निर्मातालाई आफ्ना सिर्जना फराकिलो दर्शकवर्गसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।
सलोनी कार्की निर्देशित ‘सीमा (Limit)’ ले उत्कृष्ट विद्यार्थी फिल्म अवार्ड प्राप्त गरेको छ। त्यसैगरी, श्रीजन राज पाण्डे निर्देशित ‘मितक्पा’ र पुरबहादुर गुरुङ निर्देशित ‘अ लेटर इन विन्टर’ ले विशेष जुरी मेन्सन प्राप्त गरेका छन्।
विद्यार्थी फिल्महरूमा वैदेशिक रोजगारी तथा बसाइँसराइ, लैंगिक विषय, परिवार, शिक्षा, बेरोजगारी, सामाजिक अपेक्षा र नेपाली समाजको दैनिक जीवनजस्ता विषय समेटिएका थिए।
विद्यार्थी फिल्मको मूल्यांकन जुरी सदस्य प्रभात गुरुङ, सुजाना श्रीष र रजिला श्रेष्ठले गरेका थिए।
नोभेम्बर २८ देखि जनकपुरमा महोत्सव
काठमाडौं संस्करण सम्पन्न भएसँगै फिल्म फेस्टिभलको अर्को चरण नोभेम्बर २८ र २९ मा जनकपुरमा आयोजना हुँदैछ। जनकपुरको कदमचोकस्थित गिरिजा चलचित्र मन्दिरमा महोत्सव सञ्चालन हुनेछ।
जनकपुर संस्करणमा ‘इमर्जिङ भ्वाइसेज इन नेपाली सिनेमा’ शीर्षकमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ। छलफलमा नेपाली विद्यार्थी फिल्म प्रदर्शनमा सहभागी तीन जना फिल्म निर्माताले आफ्नो सिर्जनात्मक यात्रा, फिल्म निर्माण प्रक्रिया र नेपाली फिल्म उद्योगमा काम गर्दाका अनुभव साझा गर्नेछन्।
नेपालका लागि युरोपेली युनियनको प्रमुख सांस्कृतिक कूटनीतिक पहलका रूपमा रहेको यो महोत्सवले नेपाली र युरोपेली सिनेमालाई विविध दर्शकसमक्ष पुर्याउँदै सांस्कृतिक संवाद, सिर्जनशीलता र आपसी आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ।



