काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार र प्रक्रियाबारे स्पष्ट पार्न सार्वजनिक लेखा समितिले जलस्रोत तथा सिँचाइ विभागलाई सात दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ ।
आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको ठेक्का रद्द गरिएको विषयमा समितिले विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेको थियो । ६ कम्पनीमध्ये तीनवटा प्राविधिक मूल्यांकनमा योग्य ठहरिएपछि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिएको थियो ।
महानिर्देशक रजौरियाले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल संरचनाको खरिदमा ‘रेटेड प्वाइन्ट क्राइटेरिया’ अपनाउनुपर्ने भएकाले पुरानो प्रक्रिया रद्द गरिएको दाबी गरेका छन् । नयाँ विधिबाट निर्माण कम्पनीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्यांकन गर्न सकिने उनको भनाइ छ ।
करिब ६ वर्षअघि सुरु भएको आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भएको थियो । तर, बाँध, विद्युत् गृहलगायत संरचना निर्माणको काम अघि बढ्न सकेको छैन ।
आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सांसद मनिष झाले आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न माग गर्दै ठेक्का रद्द भए मधेशमा आन्दोलन हुन सक्ने चेतावनी दिएका छन् ।
समितिले सात दिनभित्र प्राप्त कागजात अध्ययन गरी थप छलफल गर्ने जनाएको छ ।



