Delhi Visit: सहमतिका उपलब्धि किसानको खेत र युवाको रोजगारीमा देखिनुपर्ने प्रधानमन्त्री शाहको जोड

Headlines राजनीति

नेपाल–भारत सम्बन्धलाई कूटनीतिक निकटताबाट आर्थिक अवसर र विकास साझेदारीमा बदल्ने प्रस्ताव; भारतीय लगानीकर्ता, विद्यार्थी र पर्यटकलाई नेपाल आउन आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको उपलब्धि सर्वसाधारणको जीवनमा देखिनुपर्ने बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अब रोजगारी, लगानी, बजार विस्तार र नयाँ पुस्ताका अवसर सिर्जना गर्ने विकास साझेदारीमा बदल्नुपर्नेमा जोड दिएका हुन् ।

भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले दुई देशबीच भएका सहमति कार्यान्वयनको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीले प्रत्यक्ष अनुभव गर्नुपर्ने बताए ।

‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपना नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न सक्नुपर्छ,’ उनले भने ।

शाहले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको उल्लेख गर्दै यसलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने बताए । उनका अनुसार दुई देशबीचको सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन् । त्यसैले ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत निकटतालाई आर्थिक तथा विकास सहकार्यमा रूपान्तरण गर्नु आवश्यक छ ।

द्विपक्षीय वार्तामा शताब्दियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न विषयमा छलफल भएको र सहकार्यका क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन तथा शिलान्यास गरिएको उनले जानकारी दिए । ती उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे ।

लगानी र हवाई सम्पर्क विस्तारमा जोड

प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गरेका छन् । नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, दुवै देशका नागरिकको आवागमन सहज बनाउन नेपाल र भारतका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनले बताए । यसले पर्यटन, शिक्षा, व्यापार र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्न सक्ने उनको धारणा छ ।

जलस्रोत र जलवायु सहकार्य

शाहले नेपाल र भारतबीच जलस्रोत तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य आवश्यक रहेको पनि बताए । हिमालयका स्वच्छ जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उनले हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको बताए ।

जलवायु परिवर्तनका चुनौतीलाई दुवै देशले मिलेर सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । जलस्रोतको उपयोग र संरक्षणमा सहकार्यलाई विकास साझेदारीको महत्त्वपूर्ण पक्षका रूपमा अघि बढाउनुपर्ने उनले संकेत गरे ।

धार्मिक सम्बन्धलाई पर्यटनसँग जोड्ने प्रयास

नेपाल–भारत सम्बन्ध भगवान् श्रीराम र माता जानकीको समयदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै शाहले जनकपुर र अयोध्याबीच रेल सेवा सुरु भएको प्रसङ्ग उठाए । यसले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप जीवन्त बनाउने उनको भनाइ थियो ।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । साथै भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

भारतले प्राकृतिक विपद् र कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै शाहले भारतीय सरकार र जनताप्रति आभार व्यक्त गरे । मोदीको निमन्त्रणा र न्यानो आतिथ्यका लागि धन्यवाद दिँदै उनले नेपाल–भारतबीचको मित्रता विश्वासमा हिमालझैँ अग्लो र सहकार्यमा नदीझैँ अविरल हुनुपर्ने कामना गरे ।

दुई देशको साझा आर्थिक तथा विकास साझेदारीसम्बन्धी दृष्टिकोण संयुक्त दृष्टिपत्र र भ्रमणका साझा उपलब्धि संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।