Delhi Visit: बालेन–मोदी भेटवार्ता सोमबार, सहमति र सम्झौता आदानप्रदानदेखि संयुक्त पत्रकार सम्मेलनसम्म

Headlines राजनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको उडानमार्फत आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ ।

विमानस्थलबाट उनी सिधै होटल ताजमहल पुग्नेछन् । त्यहाँ आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका छ ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

राजघाटको कार्यक्रमपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भेटवार्तापछि सोमबार मध्याह्न १२ः२५ बजे दुई देशबीच भएका सहमति तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।