आज बिहान ११ बजे सिंहदरबारमा बैठक, भ्रमणका क्रममा आर्थिक सहकार्य, हवाई सेवा र विकास आयोजनाबारे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण र त्यसक्रममा उठाइने विषयबारे आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारत भ्रमणमा जाने तयारीमा छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा करिब आधा घण्टा एक्लाएक्लै वार्ता हुने कार्यक्रम छ। दुई देशबीच आर्थिक सहकार्य, हवाई सेवा र विकास आयोजनासम्बन्धी विषयमा छलफल तथा सम्झौता गर्ने तयारी छ।
भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको थियो। भेटमा भ्रमणको तालिका, छलफल हुने विषय र दुई देशबीच हुन सक्ने सम्झौताबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्।



