सन् २०२६/२७ का लागि नेपालले अध्यक्षता पायो, सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोग गरी कारोबार गर्ने र सीमापार भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल
काठमाडौं । एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६/२७ का लागि अध्यक्षता नेपाल राष्ट्र बैंकले सम्हालेको छ । नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न युनियनको सञ्चालक समितिको ५४औँ बैठकले नेपालको केन्द्रीय बैंकलाई अध्यक्षता हस्तान्तरण गरेको हो ।
नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको हो । बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर, सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधि सहभागी थिए ।
अध्यक्षता ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोग गरेर भुक्तानी गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व बलियो बनाउन सहयोग पुग्ने बताए । एसीयूको ‘बाइ–मन्थ्ली नेट सेटलमेन्ट’ प्रणालीले भुक्तानीका क्रममा सदस्य राष्ट्रले सामना गर्न सक्ने सम्भावित कठिनाइबाट जोगाउन सुरक्षा कवचको काम गर्ने उनको भनाइ थियो ।
बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण, नीतिगत सुधार तथा सदस्य राष्ट्रबीच भुक्तानी र फर्स्योटलाई सहज बनाउने विषयमा छलफल भएको थियो । भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानीका लागि युनियनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सुदृढीकरण र कार्यसम्पादन सुधारका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए ।
बैठकले एसीयू महासचिवको प्रतिवेदन ग्रहण गर्नुका साथै नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिका सिफारिस अनुमोदन गरेको थियो । सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्रबारे पनि छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
बैठकले सन् २०२७/२८ का लागि सेन्ट्रल बैंक अफ म्यानमारलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ । युनियनको आगामी बैठक सन् २०२७ जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ ।
बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका थिए । त्यसपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले पाँच दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौती सामना गर्न संस्थागत पारदर्शिता र सदस्य राष्ट्रबीच आपसी विश्वास आवश्यक रहेको उनले बताए ।
सन् १९७४ मा स्थापना भएको एसीयूको उद्देश्य सदस्य राष्ट्रबीचको अन्तरदेशीय भुक्तानी कारोबार व्यवस्थित र सहज बनाउनु हो । इरानको तेहरानमा सचिवालय रहेको युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्काका केन्द्रीय बैंक आबद्ध छन् । युनियनमा हाल ११ सदस्य राष्ट्र छन् ।



