माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंक र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ। सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरेर नेपालमा सहज रूपमा रकम पठाउन सक्ने भएका छन्।

सम्झौताअनुसार विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको रेमिट्यान्स सेवा ‘एमबीएल रेमिट’ मार्फत नगद भुक्तानी लिन सकिनेछ। साथै माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा पनि रकम जम्मा गर्न सकिनेछ। देशभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट सेवाग्राहीले नगद भुक्तानीसमेत लिन सक्नेछन्।

यो सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई सहज बनाउनुका साथै डिजिटल रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबाट विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले आधुनिक प्रविधिको प्रयोग गरी छिटो, सुरक्षित र सहज रूपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज रेमिट्यान्स सेवा उपलब्ध गराउन प्रचलित कानुन तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड पालना गर्दै आएको जनाएको छ।

बैंकले पूर्वदेखि पश्चिम र हिमालदेखि पहाड तथा तराईसम्म आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। बैंकका देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी २५५ स्थानमा सेवा केन्द्र सञ्चालनमा छन्। त्यस्तै, १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको बैंकले जनाएको छ।