आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

Sticky News संकृति - सम्पदा

जनकपुर । अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको रौनकले जनकपुरधामका पोखरीहरूलाई जीवन्त बनाएको थियो ।

प्रकृतिसंगको प्रत्यक्ष सम्बन्धलाई दर्शाउने छठ पर्व समाप्त भएको केही बेरमै छठ घाट र पोखरीहरू अहिले फोहोरको थुप्रोले भरिएका छन् । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, त्यहीँ अहिले पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् । पर्व सकियो, भक्तजन घर फर्किए, तर उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै बाँकी छन् ।

यो दृश्य केवल फोहोर व्यवस्थापनको समस्या मात्र होइन । यो प्रकृतिप्रति हाम्रो व्यवहार, धार्मिक आस्थाको वास्तविक अर्थ र सामाजिक जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न पनि हो ।

प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छठ पर्वमा प्रकृतिको काखमा पुगेर पूजा गरिन्छ । पोखरी, ताल, नदी र जलाशयको किनारमा उभिएर जल र सूर्यलाई साक्षी राख्दै सूर्यदेवको आराधना गरिन्छ । पृथ्वीमा जीवन सम्भव बनाउने सूर्यप्रति कृतज्ञता व्यक्त गरिन्छ ।

छठ पर्वमा प्रयोग गरिने अधिकांश सामग्री पनि प्रकृतिबाटै प्राप्त हुन्छन् । माटोको घैला, दियो, केराको पात, उखु, नरिवल, फलफूल र अन्य मौसमी उत्पादनबाट प्रसाद तथा परिकार तयार पारिन्छन् । प्रकृतिले दिएको उपहारलाई नै प्रकृतिसामु अर्पण गर्नु यस पर्वको सुन्दर विशेषता हो ।

यस पर्वले मानिसलाई प्रकृतिप्रति कृतज्ञ हुन, जलस्रोतको महत्त्व बुझ्न र प्राकृतिक सम्पदाको सम्मान गर्न सिकाउँछ । पोखरी र नदीको सरसफाइ, शुद्धता तथा पवित्रतालाई विशेष महत्त्व दिइन्छ । छठ आउनुअघि नै घाट र पोखरीहरूको सरसफाइ गर्ने परम्परा छ । कतिपय ठाउँमा स्थानीयवासी र युवाहरू आफैँ जुटेर पोखरीका डिल सफा गर्छन्, जलाशय वरिपरिका झारपात हटाउँछन् र घाटलाई आकर्षक बनाउँछन् ।

तर विडम्बना ! जुन पोखरीलाई सफा गरेर पूजा गर्न योग्य बनाइन्छ, त्यही पोखरीलाई पूजा सकिएपछि फोहोरको थुप्रोमा परिणत गरिन्छ । यो व्यवहारले जोसुकैको मनमा एउटा प्रश्न उठाएको छ । प्रकृतिको पूजा गर्ने नाममा प्रकृतिलाई नै फोहोर उपहार दिनु कस्तो आस्था हो ? सूर्यसँग जीवन र समृद्धिको कामना गर्ने तर सूर्यको प्रकाशले जीवन दिएको यही प्रकृतिको संरक्षणप्रति बेवास्ता गर्नु कस्तो धार्मिक व्यवहार हो ?

श्रद्धाका साथ तयार पारीएका पूजाका सामग्रीहरु घरदेखि घाटसम्म पुर्‍याउन विशेष सावधानी अपनाइन्छ । कुन सामग्री कहाँ राख्ने, कुन परिकार कसरी चढाउने र कुन समयमा सूर्यलाई अर्घ दिने भन्ने कुरामा विशेष ध्यान दिइन्छ । तर पूजा सम्पन्न भएपछि त्यही सावधानी र जिम्मेवारी हराएजस्तो देखिएको छ । जनकपुरधामका मुख्य मानिने गंगासागर पोखरीको घाट, धनुष सागर पोखरी घाट, दशरथ तलाउको घाट र अंगराजसर पोखरीको घाटको अहिलेको अवस्था हेर्दा कुनै डम्पिङ साईट वरिपरिको दृश्य भन्दा कम देखिन्न ।

पूजाका लागि ल्याइएका दियो, बत्ती, घैला, ढाकी, सुपली तथा अन्य सामग्रीहरु पोखरी र पोखरीको घाटमै छोडेर श्रद्धालुहरु घर फर्किएका छन् ।

यसले एउटा गम्भीर विरोधाभास उजागर गर्छ । पूजा गर्दा पवित्रता खोज्ने हामी, पूजा सकिएपछि त्यही पवित्रताको आधार बनेको वातावरणप्रति किन उदासीन हुन्छौँ ? धर्म र आस्था केवल केही घण्टाको अनुष्ठानमा सीमित हुन सक्छन् र ? यदि हामी साँच्चिकै सूर्यदेव र छठी माताप्रति श्रद्धा राख्छौँ भने प्रकृतिले दिएको जल, जमिन र वातावरणको संरक्षण गर्नु पनि त्यही आस्थाको हिस्सा हुनुपर्ने होइन र ?

छठ पर्वलाई शुद्धता, संयम, अनुशासन र स्वच्छताको पर्वका रूपमा पनि लिइन्छ । यस पर्वमा व्रतालुहरूले कठिन व्रत बस्छन्, खानपानमा विशेष शुद्धता अपनाउँछन् र पूजाका सामग्रीदेखि घाटसम्मको पवित्रतामा ध्यान दिन्छन् ।

तर स्वच्छताको यही सन्देश पर्व सम्पन्न भएपछि किन हराउँछ ? के स्वच्छता केवल पूजाका लागि आवश्यक हो ? के पोखरीको पवित्रता अर्घ दिँदासम्म मात्र कायम रहनुपर्ने हो ?

वास्तवमा छठको अर्थ सूर्यलाई अर्घ दिनु मात्र होइन । सूर्यले दिएको प्रकाश, ताप र ऊर्जाबाट चलिरहेको जीवनप्रति कृतज्ञ हुनु पनि हो । पानी, हावा, माटो र वनस्पतिप्रति सम्मान व्यक्त गर्नु पनि हो । प्रकृतिको संरक्षणबिना मानव जीवन सम्भव छैन भन्ने सन्देशलाई आत्मसात् गर्नु पनि हो । तर व्यवहारमा भने हामीले छठको आध्यात्मिक र सांस्कृतिक पक्षलाई आत्मसात् गरे पनि त्यसको वातावरणीय सन्देशलाई पर्याप्त रूपमा व्यवहारमा उतार्न सकेका छैनौँ ।

आस्थाको नाममा गरिने कुनै पनि कार्यले प्रकृतिलाई क्षति पुर्‍याउनु हुँदैन । बरु प्रकृतिको पूजा गर्ने पर्वले प्रकृतिको संरक्षण गर्ने संस्कारलाई अझ बलियो बनाउनुपर्ने हो ।

पोखरी र घाटहरूमा देखिएको फोहोरको समस्या भक्तजनको चेतनाको कमीसँग मात्र जोडिएको छैन । यसमा घाट व्यवस्थापन समिति र सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ ।

छठ पर्वअघि घाट सजावट, बत्ती व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा अन्य तयारीमा विभिन्न समिति सक्रिय हुन्छन् । चन्दा संकलनदेखि सजावटसम्मका काममा व्यापक तयारी गरिन्छ । घाटलाई आकर्षक बनाउन विभिन्न संरचना निर्माण गरिन्छन् । तर पर्व सकिएपछि ती घाटहरूको व्यवस्थापन र सरसफाइ कसको जिम्मेवारी हो भन्ने विषयमा पर्याप्त ध्यान पुगेको देखिँदैन ।

यदि पर्वअघि घाट सफा गर्न सकिन्छ भने पर्वपछि फोहोर उठाउन किन सकिँदैन ? यदि हजारौँ भक्तजनलाई व्यवस्थित रूपमा अर्घ दिने वातावरण बनाउन सकिन्छ भने उनीहरू फर्किएपछि घाट सफा राख्ने व्यवस्था किन गर्न सकिँदैन ?

घाट व्यवस्थापन समितिले पर्व सुरु हुनुअघि मात्र होइन, पर्व सम्पन्न भएपछि पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रत्येक घाटमा पर्याप्त फोहोर संकलन गर्ने डस्टबिन राख्ने, पूजा सम्पन्न भएपछि तत्काल सरसफाइ टोली परिचालन गर्ने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने र पोखरीमा पूजाका सामग्री फाल्न नदिने व्यवस्था गर्न सकिन्छ ।

त्यस्तै, स्थानीय तहले पनि छठ पर्वका लागि विशेष सरसफाइ योजना बनाउन आवश्यक छ । पर्वको अवधिभर मात्र नभई त्यसपछि पनि केही दिनसम्म नियमित फोहोर संकलन र व्यवस्थापनको व्यवस्था हुनुपर्छ ।

घाट व्यवस्थापन समितिहरूको सफलता घाट कति आकर्षक बनाइयो, कति बत्ती बालियो वा कति सजावट गरियो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । पर्व सकिएपछि घाट कति सफा राखियो भन्ने कुरा पनि त्यसको सफलताको महत्त्वपूर्ण मापदण्ड बन्नुपर्छ ।

जनकपुरधामसहित मधेश प्रदेशका जनतामा हुने एउटा नराम्रो सोँच अझै पनि छ । सार्वजनिक सम्पत्तिको बेवास्ता गर्नु । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका अनुसार यहाँका जनताले हरेक सार्वजनिक स्थान र सम्पत्तिको जिम्मेवारी सम्बन्धित निकायको मात्र हो भन्ने बुझ्छन । उनका अनुसार सार्वजनिक सम्पत्ति सबैको आफ्नो सम्पत्त हो । प्रयोग गर्ने बेला सबैले प्रयोग गर्ने तर मर्मत सम्भार र सरसफाईको कुरा आउँदा पालिकामाथि थुपार्ने प्रवृति यहाँका जनतामा रहेको मेयर साहले गुनासो गर्ने गर्छन ।

नागरिकको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक छ । विद्यालयदेखि समुदायसम्म वातावरणीय चेतना फैलाउनुपर्छ । धार्मिक अगुवा, पुजारी, घाट व्यवस्थापन समिति र सामाजिक संघसंस्थाले पनि छठको वास्तविक सन्देशसँगै स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनुपर्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का स्थानीयवासी सतिस कुमार झा भन्छन्, छठ पर्व वर्षमा एकपटक आउँछ, तर पोखरी र जलाशयको आवश्यकता वर्षभरि रहन्छ । छठमा अर्घ दिन प्रयोग गरिने पानी यही सहरका नागरिकको दैनिक जीवनसँग पनि जोडिएको छ । त्यसैले पर्व सकिएपछि पोखरीलाई फोहोर छाड्नु भनेको आफ्नै वातावरण र भविष्यलाई अस्वच्छ बनाउनु हो ।

छठको वास्तविक सुन्दरता घाटमा बालिएका हजारौँ दीपमा मात्र छैन । यसको सुन्दरता त त्यसपछि पनि स्वच्छ र निर्मल रहने पोखरीमा हुनुपर्छ । सूर्यलाई अर्घ दिँदा जोडिएका हातले पूजा सकिएपछि एउटा फोहोर टिपेर डस्टबिनसम्म पुर्‍याउन पनि सक्नुपर्छ । छठी मातासँग परिवारको सुख र समृद्धि माग्ने भक्तजनले आफूले पूजा गरेको जलाशयको संरक्षण गर्ने संकल्प पनि गर्न सक्नुपर्छ ।

भक्तजनले आफूले प्रयोग गरेका सामग्री र फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्नुपर्छ । घाट व्यवस्थापन समितिले सरसफाइलाई आफ्नो अनिवार्य जिम्मेवारी बनाउनुपर्छ । स्थानीय सरकारले प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । धार्मिक अगुवाहरूले पनि पूजा र सरसफाइ एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिनुपर्छ ।

सञ्जय कुमार यादव, नेपाल न्यूज बैंक