Bank Deposit Rate Alert! मंसिरमा औसत ब्याजदर ३.९१ प्रतिशतमा सीमित

Headlines बैंक/वित्त

काठमाडौं । वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेप राख्ने निक्षेपकर्ताले पाउने ब्याजदर थप घटेको छ। मंसिर महिनाका लागि सञ्चालनमा रहेका २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ३.९१ प्रतिशतमा झरेको छ।

कात्तिक महिनामा यस्तो ब्याजदर औसत ४.०१ प्रतिशत थियो। एक महिनाको अवधिमा बैंकहरूको औसत अधिकतम ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको हो। यससँगै व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल पुगेको छ।

मंसिर महिनाका लागि २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

ब्याजदर घटाउने बैंकमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत विन्दुले घटाउँदै कात्तिकको ४.५ प्रतिशतबाट मंसिरमा ३.५ प्रतिशतमा झारेको छ।

यता, मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बैंक बनेको छ। बैंकले यस्तो निक्षेपमा अधिकतम ४.५० प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ।