काठमाडौं । छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महतोले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले समाजमा समानता र समावेशिताको सन्देश दिने उनको भनाइ छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै महतोले मिथिला, भोजपुरा र अवध क्षेत्रका मानिसहरू रोजगारी तथा अन्य कारणले विश्वका विभिन्न ठाउँमा पुगे पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेको बताए । अहिले भारतको बिहार र दिल्लीदेखि काठमाडौंसम्म छठ पर्व व्यापक रूपमा मनाउन थालिएको उनले उल्लेख गरे ।
उनले भने, ‘तराई र मधेश मात्रै होइन, अहिले छठ पर्व विश्वव्यापी हुँदै गइरहेको छ । जहाँ–जहाँ मिथिला, भोजपुरा र अवध क्षेत्रका साथीहरू गएर बसेका छन्, त्यहाँ पनि छठ पर्व मनाउने चलन बढेको छ । अहिले काठमाडौंमै हेर्नुभयो भने चारैतिर छठ माताको पूजा हुन्छ ।’
छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने उल्लेख गर्दै उनले प्रसाद तयार पार्ने र सुकाउनेदेखि पूजाका सामग्रीको संरक्षणसम्म विशेष सावधानी अपनाइने बताए । चराचुरुङ्गीले समेत प्रसाद नछोऊन् भनेर ध्यान दिइने र श्रद्धा तथा विश्वासका साथ पूजा गरिने उनको भनाइ छ ।
छठ पर्वको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तिथिमिति नभए पनि यसको परम्परा परापूर्वकालदेखि चलिआएको उनले बताए । महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले द्रौपदी र सती अनुसूयाले पनि छठी माताको पूजा तथा व्रत गरेको धार्मिक किंवदन्ती रहेको बताए ।
उनले भने, ‘महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने चलन थियो । त्यस्तै, द्रौपदीले आफ्नो गुप्तवास सफल होस् र पतिहरूको आयु लामो होस् भनेर छठी माताको पूजा गरेको तथा सती अनुसूयाले श्रीमान्को रक्षाका लागि व्रत गरेको किंवदन्ती छ ।’
महतोले छठ पर्वलाई सामाजिक समानता र समावेशिताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरे । एउटै घाटमा धनी, गरिब, दलित, जनजाति तथा विभिन्न समुदायका मानिसले सँगै पूजा गर्ने र जातीय विभेदबिना प्रसाद ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।
उनले भने, ‘एउटै घाटमा दलितले पनि पूजा गर्छन्, त्यही घाटमा अरू उच्च वर्ग भनिने समुदायका मानिसले पनि पूजा गर्छन्। छठको प्रसादमा छुवाछूत मानिँदैन । जसको हातबाट दिए पनि ठूलो श्रद्धाका साथ प्रसाद ग्रहण गरिन्छ । त्यसैले यो अत्यन्त समावेशी पर्व हो ।’
छठ पर्व प्रकृतिसँग प्रत्यक्ष जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसमा प्रयोग गरिने प्रसाद पनि प्राकृतिक उत्पादनमा आधारित हुने बताए । नरिवल, मुला, गाजर, सुन्तला, फलफूल तथा ठेकुवालगायत सामग्री पूजामा चढाइने र पर्वका अवसरमा जलाशय, घरआँगन तथा आवतजावत गर्ने बाटोसमेत सरसफाइ गरिने उनले बताए ।
उनका अनुसार छठ पर्वले जलस्रोत र वातावरण संरक्षणको महत्त्वसमेत बुझाउँछ । कोभिड महामारीका बेला सार्वजनिक जलाशयमा जान सम्भव नभएपछि मानिसहरूले घरकै छतमा जलाशय बनाएर पूजा गरेको उदाहरण दिँदै उनले छठको विधि र परम्परा संसारका जुनसुकै ठाउँमा पनि मूलतः समान रहने बताए ।
छठ पूजाका लागि ठूलो पुरोहित वा पण्डित आवश्यक नपर्ने र व्रतालु आफैँले श्रद्धापूर्वक सूर्यदेवलाई अर्घ दिने तथा छठी माताको पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ । पछिल्लो समय महिलासँगै पुरुषहरू पनि व्रत बस्ने चलन बढ्दै गएको उनले बताए ।
उनले भने, ‘सूर्यलाई हामी ऊर्जाको स्रोत भन्छौँ । यो ऊर्जाको स्रोतको संरक्षण गर्ने पर्व पनि हो। छठको महत्त्व र यसले दिने समावेशिताको सन्देशलाई जीवनमा उतार्न सकियो भने समाजलाई अग्रगतिको दिशामा लैजान मद्दत पुग्छ ।’
उनका अनुसार गाउँ र सहरमा छठ मनाउने क्रममा घाट सजावट, बिजुली बत्ती र तामझाममा केही भिन्नता देखिए पनि सूर्य र छठी माताको पूजा गर्ने मूल विधि भने सबै ठाउँमा समान छ ।



