छठ पर्व विश्वव्यापी र समावेशी बन्दै गएको छ : संस्कृतिविद् महत्व

Headlines विचार /दृष्टिकोण

काठमाडौं । छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शितल महत्वले बताएका छन् । प्रकृति, वातावरण र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले समाजमा समानता र समावेशिताको सन्देश दिने उनको भनाइ छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै महत्वले मिथिला, भोजपुरा र अवध क्षेत्रका मानिसहरू रोजगारी तथा अन्य कारणले विश्वका विभिन्न ठाउँमा पुगे पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेको बताए । अहिले भारतको बिहार र दिल्लीदेखि काठमाडौंसम्म छठ पर्व व्यापक रूपमा मनाउन थालिएको उनले उल्लेख गरे ।

उनले भने, ‘तराई र मधेश मात्रै होइन, अहिले छठ पर्व विश्वव्यापी हुँदै गइरहेको छ । जहाँ–जहाँ मिथिला, भोजपुरा र अवध क्षेत्रका साथीहरू गएर बसेका छन्, त्यहाँ पनि छठ पर्व मनाउने चलन बढेको छ । अहिले काठमाडौंमै हेर्नुभयो भने चारैतिर छठ माताको पूजा हुन्छ ।’

छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने उल्लेख गर्दै उनले प्रसाद तयार पार्ने र सुकाउनेदेखि पूजाका सामग्रीको संरक्षणसम्म विशेष सावधानी अपनाइने बताए । चराचुरुङ्गीले समेत प्रसाद नछोऊन् भनेर ध्यान दिइने र श्रद्धा तथा विश्वासका साथ पूजा गरिने उनको भनाइ छ ।

छठ पर्वको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तिथिमिति नभए पनि यसको परम्परा परापूर्वकालदेखि चलिआएको उनले बताए । महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले द्रौपदी र सती अनुसूयाले पनि छठी माताको पूजा तथा व्रत गरेको धार्मिक किंवदन्ती रहेको बताए ।

उनले भने, ‘महाभारतकालमा दानवीर कर्णले उदाउँदो सूर्यलाई अर्घ दिने चलन थियो। त्यस्तै, द्रौपदीले आफ्नो गुप्तवास सफल होस् र पतिहरूको आयु लामो होस् भनेर छठी माताको पूजा गरेको तथा सती अनुसूयाले श्रीमान्को रक्षाका लागि व्रत गरेको किंवदन्ती छ ।’

महत्वले छठ पर्वलाई सामाजिक समानता र समावेशिताको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरे। एउटै घाटमा धनी, गरिब, दलित, जनजाति तथा विभिन्न समुदायका मानिसले सँगै पूजा गर्ने र जातीय विभेदबिना प्रसाद ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।

उनले भने, ‘एउटै घाटमा दलितले पनि पूजा गर्छन्, त्यही घाटमा अरू उच्च वर्ग भनिने समुदायका मानिसले पनि पूजा गर्छन्। छठको प्रसादमा छुवाछूत मानिँदैन । जसको हातबाट दिए पनि ठूलो श्रद्धाका साथ प्रसाद ग्रहण गरिन्छ। त्यसैले यो अत्यन्त समावेशी पर्व हो ।’

छठ पर्व प्रकृतिसँग प्रत्यक्ष जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसमा प्रयोग गरिने प्रसाद पनि प्राकृतिक उत्पादनमा आधारित हुने बताए । नरिवल, मुला, गाजर, सुन्तला, फलफूल तथा ठेकुवालगायत सामग्री पूजामा चढाइने र पर्वका अवसरमा जलाशय, घरआँगन तथा आवतजावत गर्ने बाटोसमेत सरसफाइ गरिने उनले बताए ।

उनका अनुसार छठ पर्वले जलस्रोत र वातावरण संरक्षणको महत्त्वसमेत बुझाउँछ । कोभिड महामारीका बेला सार्वजनिक जलाशयमा जान सम्भव नभएपछि मानिसहरूले घरकै छतमा जलाशय बनाएर पूजा गरेको उदाहरण दिँदै उनले छठको विधि र परम्परा संसारका जुनसुकै ठाउँमा पनि मूलतः समान रहने बताए ।

छठ पूजाका लागि ठूलो पुरोहित वा पण्डित आवश्यक नपर्ने र व्रतालु आफैँले श्रद्धापूर्वक सूर्यदेवलाई अर्घ दिने तथा छठी माताको पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ । पछिल्लो समय महिलासँगै पुरुषहरू पनि व्रत बस्ने चलन बढ्दै गएको उनले बताए ।

उनले भने, ‘सूर्यलाई हामी ऊर्जाको स्रोत भन्छौँ । यो ऊर्जाको स्रोतको संरक्षण गर्ने पर्व पनि हो। छठको महत्त्व र यसले दिने समावेशिताको सन्देशलाई जीवनमा उतार्न सकियो भने समाजलाई अग्रगतिको दिशामा लैजान मद्दत पुग्छ ।’

उनका अनुसार गाउँ र सहरमा छठ मनाउने क्रममा घाट सजावट, बिजुली बत्ती र तामझाममा केही भिन्नता देखिए पनि सूर्य र छठी माताको पूजा गर्ने मूल विधि भने सबै ठाउँमा समान छ ।