सन् २०२६ मा विश्व कमोडिटी मार्केमा २३% मुल्य ब्रिधि प्रभाव देखिने विश्व बैंकको प्रक्षेपण

Headlines आर्थिक

मध्यपूर्वको द्वन्द्वले ऊर्जा आपूर्तिमा दबाब, खाद्यवस्तु र धातुको मूल्यसमेत बढ्ने अनुमान

काठमाडौं । विश्वव्यापी द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध तथा खाद्य उत्पादनमा देखिन सक्ने जोखिमका कारण सन् २०२६ मा विश्व बजारमा वस्तु (Commodity) को मूल्य औसतमा २३ प्रतिशतले बढ्ने विश्व बैंक समूहले प्रक्षेपण गरेको छ। विश्व बैंकले अक्टोबर २८ मा सार्वजनिक गरेको Commodity Markets Outlook प्रतिवेदनअनुसार मध्यपूर्वको द्वन्द्वले तेलको मौज्दात घटाउनुका साथै ऊर्जा मूल्यलाई चार वर्षयताकै उच्च स्तरमा पुर्‍याउने जोखिम बढाएको छ।

प्रतिवेदनअनुसार सन् २०२६ मा ऊर्जा मूल्य ३२ प्रतिशतले बढ्ने अनुमान छ। यससँगै लगातार तीन वर्षदेखि घट्दै आएको ऊर्जा मूल्यको प्रवृत्ति उल्टिने देखिएको छ। सन् २०२५ मा प्रतिब्यारेल औसत ६९ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ मा बढेर ९१ डलर पुग्ने र सन् २०२७ मा घटेर ७९ डलरमा झर्ने प्रक्षेपण गरिएको छ।

विश्व बजारमा खाद्यवस्तुको मूल्य पनि बढ्ने अनुमान छ। सन् २०२६ मा खाद्यवस्तुको मूल्य करिब १० प्रतिशत र सन् २०२७ मा थप ७ प्रतिशतले बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ। यसअनुसार दुई वर्षमा खाद्यवस्तुको मूल्यवृद्धि करिब १८ प्रतिशत पुग्नेछ। द्वन्द्वका कारण अन्न ढुवानीमा अवरोध, एल निनोका कारण कृषि उत्पादनमा पर्न सक्ने असर तथा इन्धन र मलखादको महँगो लागतले खाद्यवस्तुको मूल्य बढाउने जोखिम रहेको विश्व बैंकको विश्लेषण छ।

समग्रमा सन् २०२६ मा वस्तु बजारको मूल्य २३ प्रतिशतले बढ्ने र सन् २०२७ मा भने ७ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

द्वन्द्व लम्बिए मूल्यवृद्धिको जोखिम थप उच्च

विश्व बैंकको प्रक्षेपणमा विश्वव्यापी वस्तु आपूर्तिलाई प्रभावित पार्ने द्वन्द्व थप चर्किने अवस्था नरहने मान्यता राखिएको छ। तर मध्यपूर्वको द्वन्द्व विस्तार भएमा र रुसको तेल पूर्वाधारमा भएको क्षति कायम रहेमा ऊर्जा मूल्य अनुमानभन्दा बढी बढ्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ।

त्यस्तै, ऊर्जा मूल्य अपेक्षाभन्दा बढी बढ्ने, ब्ल्याक सी क्षेत्रबाट हुने अन्न ढुवानीमा आक्रमण जारी रहने र एल निनोको प्रभाव अत्यधिक हुने अवस्था एकैपटक आएमा खाद्य संकट गहिरिन सक्नेछ। यस्तो परिस्थितिले थप मानिसलाई चरम गरिबीमा धकेल्न सक्ने विश्व बैंकको आकलन छ।

प्रतिकूल परिदृश्यमा सन् २०२७ मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल औसत १०५ डलरसम्म पुग्न सक्ने र खाद्यवस्तुको मूल्य आधारभूत प्रक्षेपणभन्दा १२ प्रतिशत बढी हुन सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा खाद्यवस्तुको मूल्य सन् २०२२ को स्तरभन्दा समेत माथि पुग्न सक्नेछ।

विश्व बैंकका उपमुख्य अर्थशास्त्री तथा प्रोसपेक्ट्स समूहका निर्देशक अयहान कोसेले ऊर्जा लागत वृद्धि र व्यापार अवरोधले विभिन्न वस्तुको मूल्य बढाइरहेको बताएका छन्। यसले मुद्रास्फीति, खाद्य असुरक्षा र आर्थिक वृद्धिमा थप दबाब सिर्जना गर्न सक्ने उनको भनाइ छ। उनका अनुसार मूल्यवृद्धिको असरबाट न्यून आय भएका तथा ऋणको उच्च भार झेलिरहेका मुलुक र सबैभन्दा कमजोर आर्थिक अवस्थाका नागरिकलाई जोगाउनु प्राथमिकता हुनुपर्छ।

विश्व बैंकले ६० अर्ब डलरसम्म सहयोग परिचालन गर्ने

बढ्दो मूल्यको असर व्यवस्थापन गर्न विश्व बैंक समूहले विद्यमान वित्तीय उपकरणमार्फत ५० अर्बदेखि ६० अर्ब अमेरिकी डलरसम्मको वित्तीय स्रोत उपलब्ध गराउने जनाएको छ। यसमध्ये २५ अर्ब डलर पूर्वव्यवस्था गरिएको वित्तीय सहायता हो।

उक्त स्रोतबाट जोखिममा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन, सरकारको वित्तीय क्षमता अभिवृद्धि तथा व्यवसाय र कृषि क्षेत्रमा चालु पुँजी एवं तरलता सहयोग उपलब्ध गराउन सकिने विश्व बैंकले जनाएको छ। विकासशील मुलुकमा रोजगारी सिर्जना र युवाका लागि आर्थिक अवसर विस्तार गर्न निजी क्षेत्रको पुँजी परिचालन गर्ने क्षमतालाई समेत संस्थाले सुदृढ बनाइरहेको छ।

तेल आपूर्तिमा चार दशकयताकै ठूलो गिरावटको जोखिम

मध्यपूर्वको द्वन्द्वले विश्वव्यापी ऊर्जा उत्पादन र उपभोगमा समेत परिवर्तन ल्याइरहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ मा विश्वको तेल आपूर्ति ५.२ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। सन् २०२० को विश्वव्यापी आर्थिक मन्दीलाई अलग राख्दा चार दशकभन्दा बढी अवधिमा यो सबैभन्दा ठूलो गिरावट हुनेछ।

यसैगरी, तेलको विश्वव्यापी उपभोग २.५ प्रतिशतले घट्ने अनुमान छ। सन् २०२० र १९८० पछिको यो तेस्रो ठूलो वार्षिक गिरावट हुने प्रतिवेदनमा उल्लेख छ। आपूर्ति अभावसँगै बढेको मूल्यले माग घटाएको छ भने विद्युतीकरणको विस्तारले पनि विशेषगरी चीनमा तेलको प्रयोग कम गरिरहेको छ।

यद्यपि, विश्वमा तेलको उत्पादन उपभोगभन्दा कम रहने भएकाले मौज्दातबाट थप तेल निकाल्नुपर्ने अवस्था छ। यसले आपूर्ति पुनः अवरुद्ध भएमा बजारलाई थप जोखिममा पार्ने देखिएको छ।

मलखाद, औद्योगिक धातु र बहुमूल्य धातुको मूल्य पनि बढ्ने

विश्व बैंकका अनुसार सन् २०२६ मा मलखादको मूल्य १४ प्रतिशतले बढ्ने अनुमान छ। वर्षको सुरुवातमा युरियाको मूल्य तीव्र रूपमा बढे पनि त्यसपछि केही घटेको छ। सन् २०२७ मा भने मलखादको मूल्य सन् २०२५ को स्तरमा फर्किने प्रक्षेपण गरिएको छ।

औद्योगिक धातुको मूल्य सन् २०२६ मा २५ प्रतिशतले बढेर नयाँ उच्च स्तरमा पुग्ने अनुमान छ। एल्युमिनियम, तामा र टिनको मूल्यले रेकर्ड स्तर कायम गर्नुमा नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र डाटा सेन्टरमा बढ्दो लगानीसँगै आपूर्ति अवरोधको भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२७ मा औद्योगिक धातुको मूल्य ३ प्रतिशतले घट्ने अनुमान छ।

यसैगरी, भू–राजनीतिक तनाव र नीतिगत अनिश्चितताका कारण सुरक्षित लगानीको विकल्प मानिने बहुमूल्य धातुको माग उच्च रहने हुँदा सन् २०२६ मा तिनको मूल्य ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। सन् २०२७ मा मूल्य केही घटे पनि सन् २०१५ देखि २०१९ सम्मको औसतभन्दा तीन गुणाभन्दा बढी रहने अनुमान छ।

प्रतिवेदनको विशेष विश्लेषणले आर्थिक तथा बजारमा तनाव बढेका बेला विभिन्न वस्तुको मूल्यमा हुने उतारचढावबीचको अन्तरसम्बन्ध थप बलियो हुने देखाएको छ। मध्यपूर्वमा हालको द्वन्द्व सुरु भएयता यस्तो सम्बन्ध अझ स्पष्ट भएको विश्व बैंकको निष्कर्ष छ। औसतमा औद्योगिक धातुले अन्य वस्तु समूहमा मूल्य उतारचढावको सबैभन्दा बढी प्रभाव प्रसारण गर्ने गरेको भए पनि मध्यपूर्वको द्वन्द्वपछि तेलको मूल्यको प्रभाव उल्लेख्य रूपमा बढेको प्रतिवेदनमा जनाइएको छ।