राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड २०२६

समाचार

२१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन्, अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति काठमाडौंमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

खोटाङको दिक्तेलकी गुरुङ अधिवक्तासमेत हुन्। उनले उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। अब उनले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप, ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप भए। शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल, क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता बने। उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी अभिनेत्री निरुता सिंहलाई नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गरिएको छ।

विभिन्न पेसामा आबद्ध महिलाको सहभागिता रहेको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनर सहभागी थिए।