काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा आर्जित १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँको तुलनामा २४.४८ प्रतिशत बढी हो।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च (Impairment Charge) मा आएको गिरावट प्रमुख कारक देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ४८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यसअनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थापन खर्च करिब ५२ करोड १७ लाख रुपैयाँले घटेको छ।
यस अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यो १.४५ प्रतिशतको वृद्धि हो।
समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ। बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ कायम भएको छ।
EPS मा सुधार, प्रतिसेयर नेटवर्थ १७५.७७ रुपैयाँ
खुद नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) मा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ५१ पैसा रहेको प्रतिसेयर आम्दानी चालु वर्षको असोज मसान्तमा बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १०.८८ गुणा कायम भएको छ। यसले बैंकको नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखाए पनि आम्दानी वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च घट्नुको भूमिका उल्लेखनीय रहेको देखाउँछ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ। खुद नाफा र वितरणयोग्य रकममा भएको सुधारले बैंकलाई आगामी दिनमा सेयरधनीलाई प्रतिफल दिने आधार तयार गरेको छ।
बैंकले निक्षेप र कर्जा दुवै विस्तार गरेको छ। गत वर्षको असोजसम्ममा ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु वर्षको सोही अवधिमा ३.११ प्रतिशत बढाएर ६ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएको छ। कर्जा प्रवाह भने ७.४८ प्रतिशत बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात ७०.११ प्रतिशत रहेको छ। निक्षेपको तुलनामा कर्जा विस्तारको गति बढी देखिए पनि बैंक नियामकीय सीमाभित्र रहेर कर्जा विस्तार गर्ने अवस्थामा छ।
बैंकको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ। गत वर्षको असोजमा ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु वर्षको असोजमा घटेर ४.७९ प्रतिशतमा झरेको छ। खराब कर्जा घट्नु र कर्जा नोक्सानी व्यवस्थापन खर्च कम हुनुले बैंकको वित्तीय अवस्थामा सुधार देखाएको छ।



