काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ३१.८ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी २ अर्ब ३ करोड ६९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि २१ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) मा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ ४३ पैसा रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ पनि बढेको छ। गत वर्ष १४० रुपैयाँ २२ पैसा रहेको प्रतिसेयर नेटवर्थ समीक्षा अवधिमा बढेर १४४ रुपैयाँ ४० पैसा पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
निक्षेप २ खर्ब २८ अर्ब, कर्जा १ खर्ब ७२ अर्ब
व्यवसाय विस्तारतर्फ असोज मसान्तसम्म माछापुच्छ्रे बैंकको कुल निक्षेप २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले १ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै, समीक्षा अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ६५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा आएको छ। खुद खराब कर्जा १.२३ प्रतिशतबाट १.०४ प्रतिशतमा झरेको छ भने खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्था १००.८७ प्रतिशतबाट बढेर १०६.४३ प्रतिशत पुगेको छ। यसले कर्जा जोखिम व्यवस्थापनमा सुधार देखाउँछ।
बैंकको कोषको लागत ४.०३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा आएको छ। आधार दर ५.८१ बाट ४.९२ प्रतिशतमा झरेको छ। यसले कर्जाको ब्याजदर घटाउन सहज भए पनि ब्याजदर अन्तर ३.६५ बाट घटेर ३.४१ प्रतिशतमा आएको छ।
पुँजी पर्याप्तता अनुपात १२.१७ प्रतिशतबाट घटेर ११.७६ प्रतिशतमा आएको छ। यद्यपि टियर वान पुँजी अनुपात ८.७३ बाट बढेर ९.२२ प्रतिशत पुगेको छ। इक्विटीमा प्रतिफल ८.८९ बाट बढेर ९.६२ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.७५ बाट बढेर ०.८५ प्रतिशत पुगेको छ।



