काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद नाफा बढे पनि खुद ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९१ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ४४ करोड ३८ लाख ९७ हजार रुपैयाँ रहेको थियो।
यसैगरी, बैंकको सञ्चालन मुनाफा ६.१७ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
यता, बैंकको वितरणयोग्य मुनाफामा भने उल्लेख्य गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ७८ पैसा रहेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा रहेको छ।



