लगातार दोस्रो दिन बढ्यो सेयर बजार, नेप्से २६९५ अंकमा

Headlines बैंक/वित्त

नेप्से ३१.५४ अंकले बढ्दा कारोबार ८ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो, १३ वटै उपसूचकमा हरियाली

काठमाडौं । लगातार दोस्रो दिन सेयर बजारमा सुधार आएको छ । बुधबार ३३.२९ अंकले बढेको नेप्से परिसूचक बिहीबार थप ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बिहीबार ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो दिन ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । छ कम्पनीको मूल्यमा भने परिवर्तन भएन । यस दिन १३ वटै उपसूचक बढेका छन् ।

अन्य समूहको उपसूचक सर्वाधिक २.४५ प्रतिशतले बढेको छ । वाणिज्य बैंक समूह २.२८ प्रतिशत र होटल तथा पर्यटन समूह २.०५ प्रतिशतले उकालो लागेका छन् । त्यस्तै, वित्त समूह १.६९ प्रतिशत र विकास बैंक समूह १.५५ प्रतिशतले बढेका छन् ।

बिहीबार बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ८.७२ प्रतिशत र नेपाल फाइनान्सको ५.४९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो अगाडि रहेको छ । कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।