अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी

Headlines स्वास्थ्य-शिक्षा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् ।

आइतबार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको मात्र जिम्मेवारी भनेर संघीय सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

‘हामी पक्कै पनि कोअर्डिनेसन गर्दै छौँ । स्वास्थ्य मन्त्रीज्यूसँग पनि मेरो कोअर्डिनेसन भइरहेको छ, यहाँको सचिवज्यूसँग पनि कुरा भइरहेको छ । कसरी मिलेर यसलाई सुधार्न सकिन्छ, हामी काम गरिरहेका छौँ,’ उनले भनिन् ।

मन्त्री मेहेताले अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि सोहीअनुसार नयाँदरबन्दी थप्न र भौतिक संरचना विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताइन् । जनसङ्ख्या वृद्धि भए पनि अस्पतालको क्षमता र जनशक्ति विस्तार हुन नसकेको उनको भनाइ छ ।

उनले भनिन,‘यो बीचमा न नयाँ दरबन्दी थपिएको छ, न संरचना वृद्धि भएको छ । त्यसले गर्दा जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ । त्यसले गर्दा चाप बढी छ र समस्या आउनुको कारण पनि त्यही हो।’

उनले अस्पतालको समस्या समाधानका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्ने वा संरचना थप्ने विषयमा छलफल भइरहेको जानकारी दिइन् । यसबारे प्रदेशका स्वास्थ्यमन्त्रीसँग पनि छलफल भइरहेको उनले बताइन् ।

अस्पतालमा बढ्दो बिरामीको चापअनुसार नर्सलगायतका स्वास्थ्यकर्मीको अभाव रहेको विषयमा पनि सरकार जानकार रहेको उनको भनाइ छ । जनशक्ति र संरचना विस्तारमार्फत अस्पतालको सेवा सुधार गर्ने विषयमा काम भइरहेको उनले बताइन् ।