नेपाल–इन्डोनेसिया द्विपक्षीय सम्बन्ध र व्यापारिक सहकार्य विस्तारबारे छलफल; राजदूत लिस्ट्योवती र चन्द्रप्रसाद ढकालबीच भेटवार्ता

आर्थिक

काठमाडौं । नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्ट्योवती र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच व्यावसायिक तथा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा भेटवार्ता भएको छ। बङ्गलादेशको ढाकास्थित आवासीय कूटनीतिक नियोगबाट नेपालको जिम्मेवारी सम्हाल्दै आएकी राजदूत मनोनित लिस्ट्योवतीलाई सोमबार आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा स्वागत गरिएको हो।

भेटका क्रममा अध्यक्ष ढकालले नेपाल र इन्डोनेसियाबीच कायम रहँदै आएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सहकार्य तथा साझा प्राथमिकताहरूबारे चर्चा गर्नुभयो। साथै, दुई देशबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लिस्ट्योवतीले व्यक्त गर्नुभएको प्रतिबद्धताको सराहना गर्दै ढकालले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा आगामी दिनमा दुवै देशबीचको व्यावसायिक सहकार्यलाई थप फराकिलो बनाउँदै आपसी हित र आर्थिक समृद्धिका नयाँ सम्भावनाहरू पहिल्याउन राजदूत मनोनित लिस्ट्योवतीको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरिएको छ।