डब्ल्यूटीओले एआई उछालका कारण सन् २०२६ को व्यापार वृद्धि प्रक्षेपणमा वृद्धि

Headlines अन्तराष्ट्रिय अर्थ

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले बिहीबार सन् २०२६ को लागि विश्वव्यापी व्यापार वृद्धि प्रक्षेपण तीव्र रूपमा बढाएको छ । मध्यपूर्व सङ्कटका बीच पनि वस्तु व्यापार एआई उछालका कारण अपेक्षाभन्दा बढी लचिलो साबित भएको छ ।

सङ्गठनले अर्को वर्ष ४.१ प्रतिशत व्यापार वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन सात महिनाअघिको २.६ प्रतिशतबाट बढेको हो ।

आपूर्ति श्रृङ्खला अनुकूलन र कृत्रिम बुद्धिमत्ता (एआई) लगानीको उछालका कारण डब्ल्यूटीओले यस वर्ष वस्तु व्यापारको परिमाणमा ३.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन मार्चमा अनुमान गरिएको १.९ प्रतिशतबाट बढेको हो ।

विश्वव्यापी कुल गार्हस्थ्य (जीडीपी) यस वर्ष २.६ प्रतिशत र सन् २०२७ मा २.९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको सङ्गठनले जनाएको छ ।

“यी अङ्कहरूले व्यापारको लचिलोपनलाई कार्यमा झल्काउँछन्,” डब्ल्यूटीओ प्रमुख एनगोजी ओकोन्जो–इवेआलाले भन्नुभयो ।

“जब अवरोधहरू आउँछन्, एकीकृत विश्व अर्थतन्त्र र नियममा आधारित व्यापार प्रणालीले अर्थव्यवस्थाहरूलाई आवश्यक वस्तुहरू व्यवसाय र घरपरिवारसम्म पु¥याउन लचिलोपन प्रदान गर्छ,” उहाँले भन्नुभयो ।

“कतिपय मुलुकले बढी झट्का महसुस गरेका छन्, र सबैले एआईजस्ता उदीयमान अवसरहरू पहुँच गर्न सक्दैनन्।”

डब्ल्यूटीओका अनुसार हर्मुज जलमार्ग हुँदै ढुवानीमा अवरोधले ऊर्जा आपूर्ति घटाएको र मुख्य ऊर्जा उत्पादन तथा मलको मूल्य बढाएको छ, तर क्षेत्रबाहिरका अधिकांश अर्थव्यवस्थाहरू लचिलो रहेका छन् ।

सङ्गठनले भन्यो, “इरान युद्धका कारण ऊर्जा, मल र यातायात बजारमा आएका अवरोधहरूसँग आपूर्ति श्रृङ्खला सफलतापूर्वक अनुकूलित भएका छन्।”

सन् २०२६ को पहिलो छ महिनामा वस्तुको व्यापार ३.५ प्रतिशतले बढेको थियो, जुन डब्ल्यूटीओको अपेक्षाभन्दा बढी हो।

विश्वव्यापी कच्चा तेल निर्यात करिब छ प्रतिशत मात्र घटेको छ भने तरल प्राकृतिक ग्यास निर्यात एक प्रतिशतले घटेको छ ।

यसैबीच, सन् २०२६ का पहिला सात महिनामा विश्वव्यापी कन्टेनर ट्राफिक वास्तवमा ३.९ प्रतिशतले बढेको छ ।

एआई लगानीसँग जोडिएको बलियो मागले द्वन्द्वका नकारात्मक प्रभावलाई ‘अधिक रूपमा सन्तुलन गरेको’ छ ।

सेमिकन्डक्टर, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा बढेको खर्चले एआई सक्षम बनाउने आयातित वस्तुहरूको माग बढाएको छ, जसले विश्वव्यापी वस्तु व्यापारलाई महत्वपूर्ण प्रोत्साहन दिएको छ ।

एआईका लागि आवश्यक सेमिकन्डक्टर, सर्भर र अन्य उपकरणहरूको व्यापारमा सन् २०२६ को पहिलो आधा वर्षमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशतले उछाल आएको छ ।

“यसले मात्र विश्वव्यापी वस्तु व्यापार वृद्धिको ४७ प्रतिशत हिस्सा ओगटेको छ, जसले सन् २०२४ र सन् २०२५ मा पहिले नै बलियो रहेको विस्तार प्रवृत्तिलाई अझ तीव्र बनाएको छ,” डब्ल्यूटीओले भन्यो।

डब्ल्यूटीओका मुख्य अर्थशास्त्री रोबर्ट स्टाइगरले सञ्चारमाध्यमलाई बताउनुभयो, “सङ्गठन ‘आश्चर्यचकित’ थियो कि मध्यपूर्व द्वन्द्वले आशङ्का गरिएजति व्यापार घटाएन र यसलाई एआई लगानी उछालको बलले आश्चर्यचकित सन्तुलन गरेको थियो ।

“एआईको लगानीमा कुनै मन्दी आएमा व्यापारमा पनि मन्दी आउन सक्छ,” उहाँले चेतावनी दिनुभयो ।

एआई पूर्वाधारमा विश्वव्यापी खर्च यस वर्ष कम्तीमा ३० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ, र हालका बजार प्रक्षेपणअनुसार सन् २०२७ मा एआई पूँजीगत खर्च थप १० देखि २० प्रतिशतले बढ्नेछ ।

“एआई सक्षम बनाउने वस्तुहरूको व्यापार दुई वर्षमा वस्तु व्यापारको एउटा अंशबाट यसको मुख्य चालक बन्न पुगेको छ,” डब्ल्यूटीओले भनेको छ ।
“यो विस्तार द्रुत, निरन्तर र अत्यन्त केन्द्रित छः केही पूर्वी र दक्षिणपूर्वी एसियाली अर्थव्यवस्थाहरूले यी वस्तुहरू आपूर्ति गर्छन् भने उत्तर अमेरिकाले माग बढाइरहेको छ।”

– मध्यपूर्व निर्यात प्रभावित–

संगठनले भनेको छ, “व्यापारको लचिलोपन समान छैन, सेवा व्यापार र केही क्षेत्रहरू द्वन्द्वका प्रभावप्रति बढी संवेदनशील छन्।”

सन् २०२६ मा एसियाले सबैभन्दा तीव्र वस्तु निर्यात वृद्धि ९.९ प्रतिशत दर्ता गर्ने अपेक्षा गरिएको छ, त्यसपछि उत्तर अमेरिकाले ५.७ प्रतिशत गर्ने प्रक्षेपण गरिएको छ।

युरोपमा निर्यात प्रदर्शन ०.१ प्रतिशतले घट्ने कमजोर रहने प्रक्षेपण छ र मध्यपूर्वमा १७.२ प्रतिशतले घट्दै तीव्र रूपमा सङ्कुचन हुने देखिएको छ ।
डब्ल्यूटीओका अर्थशास्त्रीहरूले सेवा व्यापारको प्रक्षेपण घटाएका छन्, यद्यपि वृद्धि सकारात्मक नै रहने अपेक्षा गरिएको छ ।