SMART CELLको अनुसन्धानबारे प्रकाशित समाचारप्रति CIBको गम्भीर ध्यानाकर्षण

अपराध तथा सुरक्षा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी राज्यको हक टुटाई संगठित रूपमा आपराधिक विश्वासघात गरेको तथा एनसेल आजियाटा लिमिटेडको शेयर खरिदबिक्रीसँग सम्बन्धित कसुरको अनुसन्धानबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सीआईबीले प्रेस विज्ञप्तिमार्फत उक्त कसुरको अनुसन्धान सम्पन्न गरी सम्मानित जिल्ला अदालतमा विचाराधीन रहेको र आफ्नो अधिकार क्षेत्रभित्रको सम्पत्ति शुद्धीकरणलगायतका कसुरसमेत अनुसन्धानकै क्रममा रहेको जनाएको छ।

अनुसन्धानका क्रममा अप्रमाणित विषयवस्तु उद्धृत गरी विभिन्न सञ्चारमाध्यममा भ्रामक तथा तथ्यहीन समाचार प्रकाशन तथा प्रसारण भइरहेको भन्दै सीआईबीले त्यस्ता कार्य गैरकानुनी भएको जनाएको छ।

सीआईबीले अनुसन्धानसँग सम्बन्धित विषयमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोधसमेत गरेको छ। विज्ञप्ति प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जारी गरेका हुन्।